काठमाडौं, १८ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज साँझसम्म मन्त्रिमण्डलको भागबण्डा टुँगो लाग्ने र भोलिसम्म मन्त्रीहरुको सपथ हुने बताएका छन् ।
यसअघि आजै मन्त्रीहरु नियुक्त हुने र आजै राति सपथ गराईने सार्वजनिक अभिव्यक्ति दिएका अध्यक्ष दाहालले अहिले पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा भने आज साँझसम्म मन्त्रालयको भागबण्डा तय गरिने स्पष्ट पारेका हुन् ।
उनले गठबन्धनमा आवद्ध दलबीच आजै मन्त्रालयमा भागबण्डा गरिसकिने बताएका हुन् । उनले भने,‘आज मन्त्रालयको भागबण्डा टुँगो लाग्छ, भोलिसम्म मन्त्रीहरुको सपथ हुन्छ ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको आज यत्तिका दिन बितिसक्दापनि सरकारलाई पूर्णता दिन नसकेको आरोप छ । तर, गठबन्धनमा आवद्ध दलबीच मन्त्रालयमा भागबण्डा नमिलेपछि सरकारलाई पूर्णता दिन ढिलाई भैरहेको छ ।
यो बीचमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल पनि विरामी भएकोले मन्त्रालय भागबण्डाबारे भने पर्याप्त छलफल हुन पाएको थिएन । तर, आजमात्रै अध्यक्ष नेपाल डिस्चार्ज भएका छन् । file photo




प्रतिक्रिया