Logo

पाँच दलीय गठबन्धन बनाएर एमालेलाई सिध्याउने प्रयत्न भइरहेको छ : युवराज ज्ञवाली (भिडिओसहित)



नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले प्रथम विधान महाधिवेशनमार्फत आफूहरुले नेतालाई भन्दापनि पार्टीलाई बलियो बनाउने काम गरेको स्पष्ट पारेका छन् । उनले पार्टीमा अहिले सर्वेसर्वा कोही पनि नभएको पनि जिकिर गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले एमालेमाथि चौतर्फी हमला भैरहेको पनि टिप्पणी गरेका छन् । उनले आगामी निर्वाचनमा एमालेले एक्लैले बहुमत ल्याउनेगरि आफूहरुले तयारी गरेको पनि दाबी गरे । प्रस्तुत छ उपाध्यक्ष ज्ञवालीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

नेकपा (एमाले) को विधान महाधिवेशन सकिएको छ, तपाईंहरु पार्टीलाई बलियो बनाउन भन्दा पनि किन व्यक्तिमुखी हुनुभयो ?

होईन, नेतामुखि भन्दापनि पार्टीलाई बलियो बनाउने काम भएको छ ।

तर, तपाईंहरुले केपी शर्मा ओलीलाई नै सर्वेसर्वा बनाउनुभयो नि, होइन ?

अब अहिले सर्वेसर्वा भनेर कुनै तोकिएकै छैन् । त्यस्तो स्थिति छैन् । हामीले तीन वटा दस्ताबेजहरु राम्रो छलफल गरेर अघि बढाएका छौं । स्थायी कमिटीमा यसबारेमा पटक–पटक छलफल र बहस भएको छ । धेरैपटक बैठक बसेका छौं । केन्द्रीय कमिटीमा पनि छलफल भएको छ । महाधिवेशनको हलमा ग्रुपहरु बनाएर छलफल गर्यौं । यसरि निरन्तर आन्तरिक रुपमा छलफल र बहस गरेर दस्ताबेजलाई परिमार्जित गरिएको छ । साथै, दस्ताबेजमा रहेका कतिपय कुराहरुको बारेमा स्थायी कमिटीको बैठकमा आफ्ना विचारहरु प्रष्ट रुपमा राखेका छौं । यसरीनै एउटा छलफल, बहस र निश्कर्षसहित विधान महाधिवेशन एकताबद्ध रुपमा सबै चिजहरु पारित गरेर सम्पन्न भएको छ । त्यसमा फरक विचारहरु आ–आफ्नो कमिटीमा हामीले राखेका छौं ।

स्थायी कमिटीमा फरक मत राखेपनि यो विधान महाधिवेशनमा त असहमति राख्न सक्नुभएन नि ?

होईन, यो हाम्रो आन्तरिक समस्याहरु हो । यो कुनै बाहिरी खपतको लागि खुला रुपमा बहस गर्ने विषय होइन् । यो पार्टीभित्रको आन्तरिक विवाद भएको हुनाले आन्तरिक रुपमा कमिटीमा हामीले आफ्ना कुराहरु राखेका छौं । तर, महाधिवेशनको हलमा चाहीँ हामी अहिले एकताबद्ध भएर लग्नुपर्ने, पार्टीलाई विभाजनबाट रोक्नुपर्ने अनि मानिसहरु बिभाजनतिर जाने खतरा पनि छ । त्यसो भएको कारण यो बिभाजनको स्थिति नआओस, विभाजन गर्नु गलत थियो भन्ने हामीले सावित पनि गर्नुपर्ने थियो र नेकपा एमाले एकताबद्ध रुपमा अगाडि जान्छ भन्ने सन्देशपनि हामीले प्रवाह गर्नुपर्ने थियो । त्यस कारणले एकता अहिलेको प्रमुख आवश्यकता हो । बिभाजन अहिलेको मुख्य खतरा हो । त्यसो भएको हुँदा विभाजन गर्ने प्रवृत्तिलाई कमजोर पार्ने र एकताबद्ध भएर जाने प्रवृक्तिलाई प्रोत्साहित गर्ने उद्देश्यले अहिले यसलाई बहसको रूपमा नलगेर आन्तरिक रुपमा छलफल र बहस गर्ने आन्तरिक कमिटीभित्र आफ्ना फरक मत राख्ने तरिकाले हामी गयौं ।

घनश्याम भुसालले आफ्नो फरक मत राख्न पाउनुभएन नि ? यो त सार्वजनिक भएको विषय होईन र ?

होइन, त्योभन्दा पनि हामीले कमिटीभित्र कुरा राख्यौं । तर, हामीले हलमा सबैको बिचमा सार्वजनिक रुपमा फरक कुराहरु त्यसरी हलमै गएर नगर्ने नै सोच बनाएका थियौं ।

तर, नेकपा (एमाले) लोकतन्त्रप्रति प्रतिबद्ध छ भनिरहँदा नेताले आफ्नो असहमति राख्न नै नपाउने हो त ?

विचार त पार्टीका कमिटीहरुमा राखेका थियौं । तर, अन्तिममा निश्कर्षमा पुग्दा चाहीँ हलबाट सर्वसम्मत् रूपमा निर्णयहरु भएको छ । कमिटीमा आफ्ना फरक मत हामीले राखेका छौं ।

पार्टीका बैठकहरुमा फरक मत राखेपनि महाधिवेशनमा बोल्न पाइदैन् भनेर केपी शर्मा ओलीले कडा निर्देशन दिनुभएको हो ?

त्यस्तो कडा निर्देशन दिनुभएको होइन् । सार्वजनिक रूपमा महाधिवेशनको हलमा सबैको अगाडि फरक कुराहरु नराखौं । अहिलेको परिस्थिति बेग्लै र विशेष खालको अवस्था रहेको छ । फुट र बिभाजन गर्ने खालको प्रवृत्तिलाई प्रोत्साहित गर्ने खालको अवस्था रहेको छ । फुट र बिभाजन गर्ने प्रवृत्तिलाई प्रोत्साहित गर्नेगरि हामी जानु हुँदैन भनेर हामीले त्यसखालको विचार बनाएको हो ।

त्यसोभए पार्टीभित्र अब फरक मत छैन् ? केपी शर्मा ओलीले जे भन्नुभयो त्यही गर्ने अवस्था आएको हो ?

होइन्, हामीले आफ्ना मतहरुलाई आ–आफ्ना ठाउँमा राख्छौं । र, राखिरहन्छौं । निरन्तर रुपमा यो चलिरहन्छ । आउने महाधिवेशनसम्म चलिरहन्छ । यो क्रम चलिरहन्छ ।

तपाईंहरुको फरक मत केपी शर्मा ओलीको कार्यशैली, नीति, विचार वा नेतृत्व के मा हो ?

हामीले बिभिन्न विषय लेखेरै दिएका छौं, बोलेर पनि दिएका छौं । बिभिन्न नेताहरुले आ–आफ्ना फरक कुराहरु टाइप गरेरै दिनुभएको छ ।

केपी शर्मा ओली र तपाईंहरुको बीचको विवादको जड चाहीँ के हो ?

मूलभुत रुपमा हामी पार्टीमा एकताबद्ध भएर अगाडि बढ्ने हो । विगतका कुराहरुमा कतिपय फरक कुराहरु छन् । पार्टी कसरी सञ्चालन गर्ने भन्ने कुरामा पनि हामीले बहस गरेका छौं । गम्भिर छलफलहरु भएका छन् । तपाईंहरुले सुन्नुपनि भएको होला हामी स्थायी कमिटी बैठकहरुमा दिनभरि बसेका छौं । त्यसोभएर यसलाई हामीले कमिटीको आन्तरिक मामिला बनाउने हो तर, यसलाई सार्वजनिक खपतको विषय बनाएर जाने अहिले परिस्थिति छैन् । अहिले नेकपा (एमाले) माथि चौतर्फी हमला भइरहेको छ । पाँच दलीय गठबन्धन बनाएर नेकपा (एमाले) लाई सिध्याउने प्रयत्न भइरहेको छ । यस्तो अवस्थामा हामीले फरक मत ल्याउने नाममा चाहीँ पार्टीभित्र एकखालको बिभाजित मनस्थिति उत्पन्न नहोस भन्ने उद्देश्यले हामीले नयाँ तरिका अपनाएका हौं ।

तपाईंहरुले जनताको बहुदलीय जनवाद (जबज) लाई आत्मसात् गर्नुभयो भन्ने आरोप लागेको छ नि ?

जबजलाई त हामीले ५ औं महाधिवेशनदेखि नै स्विकार गर्दै आएको विषय हो । त्यसपछि छैटौं, सातौं, आठौं र नवौं महाधिवेशनमा पनि हामीले मार्गदर्शन सिद्धान्त भन्दै आयौं । अहिलेपनि त्यसबारेमा हामीले प्रष्ट रुपमा ब्याख्या गरेका छौं । यसबारेमा बिभिन्न साथीहरुका बिभिन्न कुराहरु हुनसक्छन् । कोण र जोडमा केही फरक हुनसक्छन् । तर, आधारभुत रुपमा भिन्नता छैन् ।

नेकपा (एमाले) मा सबै नेताहरुको सम्पति सार्वजनिक गर्नुपर्छ भन्ने बहस पनि सुरु भएको छ ?

हो, ती सबै कुराहरु आएका छन् । नेताहरुका सम्पति सार्वजनिक गर्नुपर्ने, अनुशासित भएर हिड्नुपर्ने, ठेक्कापट्टाबाट कमिसन खाएर कमाउने प्रवृत्ति छ, त्यो गलत हो भन्ने कुरा महाधिवेशनको हलमा ब्यापक रुपमा उठेको छ । तपाईंहरुले पनि सुन्नुभएको होला नेताहरुले सबै कुराहरु व्यवस्थित् रुपमा राख्नुभएको छ ।

नेकपा (एमाले) का नेताहरुको जीवनशैली विलाषी भयो, धेरै सम्पति आर्जन गरे त्यसको खोजी गर्नपर्दैन ? तपाईंहरुका कार्यकर्ताहरुको यसप्रति गुुनोसो छ नि ?

यस सन्दर्भमा हामीले दश वटा ग्रुपहरु बनाएका थियौं । दशवटै ग्रुपहरुबाट तपाईंले उठाएका कुराहरु ब्यापक रुपमा उठाएका छन् ।

कुरा उठेरमात्र हुन्छ त ? पार्टीले आफ्ना नेताहरुको सम्पति छानबिन गर्न सक्छ ?

हाम्रो अनुशासन आयोग बन्छ । त्यसले सबै नेताहरुको सम्पति सार्वजनिक गर्नुपर्ने भनेर हामीले पास गरिसकेका छौं । त्यो काम भइरहेको छ । कसैले गरेका छैनन् भने त्यो गर्नुपर्छ । अबैधानिक कमाइ गरेर बाँच्ने जीवनशैली जुन देखिन्छ, त्यसको ब्यापक विरोध र आलोचना भएको छ । तर, सबैले आफ्नो बैधानिक तरिकाले मेहेनत र श्रमबाट कमाइ गरेर बाँच्ने, सम्पति कमाउने कुरा चाहीँ स्वभाविक हुन्छ । त्यसलाई प्रोत्साहन पनि गर्नुपर्छ । सबैजना उत्पादनमा संलग्न हुनुपर्छ । सबैले श्रम गर्नुपर्छ । श्रम गरेर कमाइ गर्नुपर्छ । त्यसबाट आफ्नो जीवन चलाउनुपर्छ । अबैधानिक आयस्रोतलाई छानबिन गर्नुपर्छ र त्यसरी कमाउने व्यक्तिलाई कारबाही गर्नुपर्छ भन्ने कुरा चाहीँ ब्यापक रुपमा उठेको छ । र, त्यसलाई हामीले पारित गरेका छौं ।

नेकपा (एमाले) विधानको कुरा गर्दा अब संगठन कसरी अगाडि बढ्छ ?

विधान पारित भएको छ । १५ जना पदाधिकारी हुन्छ । पदाधिकारीको सचिवालय बन्छ । स्थायी कमिटी ४५ जनाको बन्छ । २२५ जनाको केन्द्रीय कमिटी बन्छ । त्यो चाहीँ प्रत्यक्षरुपमा निर्बाचित हुन्छ । अध्यक्ष देखी लिएर सबैजना महाधिवेशनका प्रतिनिधिबाट निवार्चित हुन्छन् । साथै, यसरीनै अघि बढ्छ । यसरी नै लोकतान्त्रिक प्रणालीको आधारमा नै सबै चिज सम्पन्न हुन्छ ।

तपाईंहरुले निर्वाचनको कुरा गरिरहनुभएको छ, अहिलेको अवस्थामा देशमा निर्वाचन सम्भव छ ?

निर्वाचन हुन्छ नै । यो सम्भव छ । त्यसमा नेकपा (एमाले) ले बहुमत ल्याउनेगरि देशभरि तयारी गरिरहेको छ ।

उसो भए, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आगामी निर्वाचनमा तपाईँहरुको मुख्य एजेण्डा हो ?

यस सन्दर्भमा विचारहरु आएका छन् । महाधिवेशनको हलमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा जानुपर्छ भन्ने कुरा आएको छ तर, त्यो पारित भएको छैन् ।

उमेरहदका कारण ११औं महाधिवेशनमा तपाईहरु कुनै पनि पदमा रहन नपाउने हुनुभयो, होईन ?

अब ७० वर्षको उमेरहद हामीले पास गरिसकेका छौं । अब आउने १०औं महाधिवेशनमा पनि यो उमेरहद लागु हुन्छ । जो नेताहरु ७० वर्ष कटेका छन् उहाँहरु स्वभाविक रुपमा बाहिरिने कुरा रहन्छ ।

चाडपर्व आइसकेको छ, महँगी बढिरहेको छ, तर, नेकपा (एमाले)ले जनताको बारेका कुनैपनि प्रस्ताव पारित गरेन है ?

होइन्, हामीले हिजो प्रस्ताव पारित गरेका छौं । जनताका समस्यादेखि लिएर सम्पूर्ण कुराको प्रस्ताव हामीले हिजो पारित गरिसकेका छौं ।



प्रतिक्रिया दिनुहोस्