Logo

‘यदि प्रधानन्यायाधीशले मन्त्री मागेको समाचार सत्य हो भने उहाँमाथि महाभियोगको प्रस्ताव दर्ता गराउनुपर्छ’ : डा. त्रिपाठी (भिडिओसहित)



काठमाडौं, १९ असोज । वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष बनेदेखि नै नेपालको न्यायिक प्रणालीमा ठूलो विचलनको सुरुवात भएको टिप्पणी गरेका छन् । उनले भने,‘दुई वटा गल्ती मिलेर एउटा सही बन्दैन क्या । हिजो खिलराज रेग्मी प्रधानन्यायाधीश हुँदा मन्त्रिपरिषद्को अध्यक्ष बन्नुभयो, त्यो एउटा गल्ती थियो । फेरि अर्को गल्ती गर्न मिल्दैन् ।’ हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले संसारको कुनैपनि देशको न्यायालयले सरकारमा भागबण्डा नखोज्ने सुनाए । उनले भने,‘न्यायापालिका भनेको त न्याय सम्पादन गर्ने ठाउँ हो । प्रधानन्यायाधीशले मन्त्रिमण्डलमा भागबण्डा खोजेको हो भने यो खराब आचरण हो । न्यायापालिकालाई खतरामा पारिएको हो । न्यायापालिकालाई कार्यपालिकाको अधिनस्थ बनाउन खोजिएको हो । यो संविधानवादमाथिको प्रहार हो ।’

उक्त प्रकरणले प्रधानन्यायाधीशमाथि महाभियोगको विषय बन्ने पनि त्रिपाठीको टिप्पणी छ । उनले भने,‘यदि यो न्यूज सत्य हो भने प्रधानन्यायाधीशमाथि महाभियोगको प्रस्ताव दर्ता गराउनुपर्छ ।’ उनले यो प्रकरणमा गम्भीरतापूर्वक छानबिन हुनुपर्नेपनि सुनाए । र, यो अननोटिस रहनु नहुने विषय भएको उनको भनाई छ ।

त्रिपाठीले शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि आफू बालुवाटार नै नगएको दाबी गरे । पत्रकार धमलाले तपाईँ त बालुवाटारबाट परिचालित हुनुहुन्छ अरे नि भनेर सोधेको प्रश्नमा उनले भने,‘तपाईँ मनगढन्ते कुरा गर्नुहुन्छ । ननसेन्स कुरा गर्दै हुनुहुन्छ । को पात्र हो ? जब शेरबहादुर देउवाजीले अध्यादेश ल्याउनुभयो नि, म मात्रै यस्तो व्यक्ति हुँ, मैले अध्यादेश संविधानविपरित हो भनेर भनेको थिएँ । तपाईँ जथाभावी कुरा गर्ने । देउवाजीले अध्यादेश ल्याउँदा मैले मात्रै यो गलत हो भनेर बोलेको थिएँ ।’



प्रतिक्रिया दिनुहोस्