Logo

नेपाल प्रहरीको प्रणालीगत सुधार बिस्तारै देखिँदै जान्छः प्रहरी प्रवक्ता



काठमाडौं, असोज २० । आज ६६ औं प्रहरी स्थापना दिवस हो । नेपाल प्रहरीले २०१२ असोज ३० मा प्रहरी संगठन विधिवत् स्थापना भएको सम्झनास्वरुप २०५१ देखि दिवस मनाउन थालेको हो । नेपाल प्रहरीले तीन दिनसम्म नागरिकसँग अन्तर्क्रिया, रक्तदान, माक्स वितरण, स्वास्थ्य शिविर, चित्रकला आदि कार्यक्रम गरी स्थापना दिवस मनाउँदै छ ।

नेपाल प्रहरीका प्रवक्ता एसपी वसन्तबहादुर कुँवरले असोज ३० दसैंको वेला पर्ने भएकाले १० दिन अगावै मनाउन लागेको जानकारी दिए । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै प्रवक्ता कुँवरले भने, “विभिन्न कालखण्ड पार गर्दै आएको नेपाल प्रहरीको स्थापना दिवस तीन दिनसम्म हर्षोल्लासका साथ स्थापना दिवस मनाउँदै छौं । हामीले मुख्यतः नागरिक प्रहरी साझेदारीलाई हामीले ध्यान दिएका छौं ।” आजको औपचारिक कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री शेरबहादुर देउवा समेत सहभागी हुने उनले बताए ।

वर्तमान संगठन प्रमुख शैलेश थापा क्षेत्रीले सकल दर्जाको मनोबल उच्च हुने गरी विधि र प्रक्रिया अनुसार समान अवसर दिने प्रणालीको विकास गरेको उनले बताए । कुँवरले भने, “प्रणालीगत सुधार बिस्तारै देखिँदै जान्छ । राजनीतिक हस्तक्षेप, अपारदर्शिता आदि कुरामा नेपाल प्रहरी सचेत छ । सकल दर्जाको मनोबल नै कार्यसम्पादनको आधार हो । यसमा वर्तमान गृहमन्त्री बालकृष्ण खाँडको पनि सहयोग रहेको छ ।”

प्रदेश प्रहरीलाई अधिकार दिने कुरामा दुबिधा नभएको उनले बताए । उनले भने, “भरखरै नेपाल प्रहरी सुपरीवेक्षण र तथा कार्यसञ्चालन ऐन आएको छ । प्रहरी समायोजन सम्पन्न भइसकेका छैन । संघीय र प्रदेश प्रहरी कागजी रुपमा छुट्टिए पनि कार्यान्वयनमा आउन बाँकी छ ।”



प्रतिक्रिया दिनुहोस्