Logo

‘के हामी सधैं अरुको झोला मात्रै बोकेर हिँड्नुपर्ने ?’-प्रकाशमान सिंह



काठमाडौं, २० असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले यसपालि आफु सभापति पदमा लड्ने बताएका छन् । नेपाली कांग्रेस नागार्जुन नगर समितिले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै नेता सिंहले यसपालि आफु सभापति पदमा लड्ने बताएका हुन् ।

२०७२ सालमा भएको १३ औं महाधिवेशनमा आफू नउठेर रामचन्द्र पौडेल र शशांक कोइरालालाई सघाएको भन्दै ‘अहिलेसम्म काठमाडौंबाट को पार्टी सभापति भएको छ ?,’ आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने, ‘के हामी सधैं अरुको झोला मात्रै बोकेर हिँड्नुपर्ने?’
उनले नेताहरूमा पदमा पुग्न होडबाजी गर्ने तर पद पाइसकेपछि काम नगर्ने प्रवृत्ति देखा परेको पनि बताए। पदमा पुगेपछि सभापति शेरबहादुर देउवाले काम गर्न नसकेको उनको आरोप छ । ‘अहिलेको सभापतिलाई हेर्नुस् न, चार वर्षसम्म पनि विभाग गठन गर्न सक्नु भएन,’ नेता सिंहले भने ।

पार्टीलाई संस्थागत गर्नुपर्ने बताउदै कांग्रेसमा गुट नै गुट रहेकोतर्फ संकेत गर्दै ए कांग्रेस, बी कांग्रेस र सी कांग्रेसभन्दा पनि नेपाली कांग्रेस जनताले खोजेको बताए । जनताले खोजेजस्तो नेपाली कांग्रेस १४औं महाधिवेशनपछि आउने सिंहको भनाइ थियो।

उनले आफूलाई सभापतिमा सहयोग गर्नुपर्ने पनि आग्रह गरे । ‘त्याग नै त्याग भनेर मात्र हुन्छ ? १३औं महाधिवेशनमा मैले रामचन्द्र पौडेललाई छाडेकै हो,’ उनले भने, ‘म पहिले महामन्त्री जितेको हुँ। बिपीको छोरा महामन्त्री उठ्ने भनेर म नै त्यसबेला शशांक कोइरालाको प्रस्तावक बसेँ।’

आफूलाई नेता तथा कार्यकर्ताहरूले अगाडि बढ्न भनेको पनि उनले बताए। ‘गणेशमानको छोरा भन्छौं पार्टीलाई राम्रो गर्नुप¥यो भनेर मलाई कार्यकर्ताहरूले भनेका छन्,’ उनले भने, ‘प्रजातन्त्र जोगाउनुप¥यो। पार्टी संस्थागत गर्नुप¥यो। जनतालाई सहयोग गर्नुप¥यो भन्ने हो। मलाई पदमा पुगेर पैसा कमाउनु छैन।’

उनले पार्टीमा यतिका वर्ष काठमाडौं बाहिरका नेताहरू सभापति भनेको र यसपालि काठमाडौंलाई नेतृत्व गर्न दिइनुपर्ने बताए। ‘यतिका वर्ष काठमाडौं बाहिरले नेतृत्व गरेको अब पालो काठमाडौंको हो,’ उनले भने।



प्रतिक्रिया दिनुहोस्