Logo

पोखरामाथि शानदार जित निकाल्दै ईपीएलको फाइनलमा पुग्यो चितवन



काठमाडौं, २० असोज । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन टाइगर्स पोखरा राइनोजमाथि शानदार जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा आज (बुधबार) भएको पहिलो क्वालिफायरमा पोखरालाई ९ विकेटले हराउँदै चितवन फाइनल प्रवेश गरेको हो ।

पोखराले दिएको ६७ रनको लक्ष्य चितवनले सहजै पुरा गर्यो । पोखराले ७ ओभर ५ बलमा १ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।
चितवनको तर्फबाट मोहमद साहजदले ७ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ४८ रन बनाए । यस्तै हसिम अन्सारीले अविजित १४ रन जोडे भने करिम जनत पनि ४ रनमा अविजित रहे । पोखराका नन्दन यादवले १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १५ ओभरमा अलआउट हुँदै ६६ रन बनाएको थियो । पोखराका लागि रिचार्ड लेभीले सर्वाधिक १९ रन बनाउदा सुनिल धमलाले १८ रन जोडे यस्तै सुशन भारीले १२ रन बनाए ।

साथै, लोकेश बलले ५, सहन अर्चाचिगेले ३, बिक्रम सोबले ३, विवेक यादवले २ र असेला गुनारत्ने १ रन मात्र जोडे । किशोर महतो १ रनमा अविजित रहे । कप्तान विनोद भण्डारी र नन्दन यादवले खाता खोल्न सकेनन् ।

चितवनका सागर ढकाल र शाहब आलमले समान ४/४ विकेट लिए । सोमपाल कामी र करिम जनतले समान १÷१ विकेट लिए । अब चितवनले फाइनलमा दोस्रो क्वालिफायरको विजेतासँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ । पोखराले भने फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरको मौका पाउने छ । चितवन पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो ।

 



प्रतिक्रिया दिनुहोस्