दुई वटा मन्त्रालय पाएको पौडेल पक्षमा मन्त्रीमा १० जनाको दाबी, बैठकमा भाँडभैलो


काठमाडौं, २० असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले आज/भोलिभित्रै सरकारलाई पूर्णता दिने अन्तिम तयारी थालेका छन् । हिजोमात्रै सत्तापक्षीय गठबन्धनमा मन्त्रालयको भागबण्डामा सहमति भएको हो । नयाँ सहमतिअनुसार कांग्रेसले ९ वटा मन्त्रालय राखेको छ । उता, नेकपा (माओवादी केन्द्र) लाई भने पाँच मन्त्रालय र एक राज्यमन्त्री दिने सहमति भएको छ ।

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई भने चार मन्त्रालय र एक राज्यमन्त्री, र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले भने चार वटा मन्त्रालयमात्रै पाएको छ । कांग्रेसले अहिले गृह, परराष्ट्र, स्वास्थ्य, सञ्चार, रक्षा, उद्योग, महिला तथा बालबालिका र युवा मन्त्रालय पाएको छ। उता, माओवादी केन्द्रले भने उर्जा, अर्थ, शिक्षा, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय पाएको छ ।

माधव नेपालको पार्टीले भने सहरी विकास, श्रम तथा रोजगार, पर्यटन र कानून मन्त्रालय पाएको छ । उता, उपेन्द्र यादवको पार्टीले भने भौतिक पूर्वाधार, कृषि, संघीय मामिला तथा सामान्य प्रशासन र वन मन्त्रालय पाएको छ । दलहरुले आजै मन्त्रीको नाम फाईनल गर्ने बुझिएको छ । यता, प्रमुख सत्तारूढ दल कांग्रेसमा भने अब पौडेल पक्षले दुई र कृष्ण सिटौला पक्षले एक मन्त्री टुँगो लगाउने भएका छन् ।

पौडेल पक्ष मन्त्री कसलाई बनाएर पठाउने भनेर अहिले आन्तरिक छलफलमा जुटेको छ । दुई वटा मन्त्रालय मात्रै पाएको पौडेल पक्षमा मन्त्री बन्ने आकांक्षीहरु धेरै छन् । स्रोतका अनुसार पौडेल पक्षबाट सुजाता कोइराला एक जना मन्त्री बन्ने पकका छ । अर्को, कसलाई पठाउने भन्नेबारे अहिले छलफल चलिरहेको छ । यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेलले डा. मिनेन्द्र रिजाललाई पठाउन खोजेका थिए ।

तर, सुजाताले आफ्नो दाबी प्रस्तुत गरेपछि पौडेल पछि रिजालको नामबाट ब्याक भएको बुझिएको छ । अहिले पौडेल पक्षबाट सुजाता, मिनेन्द्रसँगै सञ्जय गौतम, दिलेन्द्र प्रसाद बडु, राजन केसी, तेजुलाल चौधरी पनि मन्त्रीका दाबेदार हुन् । मन्त्री छान्न बसेको पौडेल पक्षको बैठकमा अहिले भाँडभैलो भएको स्रोतको दाबी छ ।  file photo