Logo

प्रकाशमान सिंह किन आक्रामक ?



काठमाडौं, २० असोज । नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह पछिल्लो समय आक्रामक अभिव्यक्तिका कारण चर्चामा छन् । कुनै हालतमा सभापतिको उम्मेदवारीबाट ब्याक नहुने अठोट गरेका सिंह पालिका तहसम्मको अधिवेशनको परिणामबाट उत्साही भएका छन् । उनको पकड क्षेत्र काठमाडौं उपत्यकामा दुई तिहाई प्रतिनिधि आफू पक्षधर आएको आँकलनका साथ सिंह उत्साही भएको बुझिएको छ ।

सिंहको चाक्सीबारीस्थित घरमा आजकल कार्यकर्ताको ओहोरदोहोर बाक्लिन थालेको छ । यसले पनि उनलाई उत्साही बनाएको छ ।

आज नागार्जुन नगरपालिकामा आयोजित पार्टी कार्यक्रममा सिंहले आक्रामक भाषण गरे । उनले आफू सभापतिको उम्मेदवारबाट पछाडि नहट्ने भन्दै अब काठमाडौं उपत्यकाबाट काँग्रेसले नेतृत्व पाउने बताए । उनले आफूलाई नै नेतृत्वकर्ताका रुपमा प्रस्तुत गरे ।

आफ्ना पिता गणेशमान सिंहले त्याग गरेको सुनाउँदै आफूले पनि १३औं महाधिवेशनमा सभापतिमा रामचन्द्र पौडेल र महामन्त्रीमा डा. सशांक कोइरालालाई त्याग गरेको स्मरण गराए । उनले भने, मेरो परिवारले मात्र त्याग गर्नुपर्ने, अरुले गर्नुनपर्ने ?

सिंहले कुनै हालतमा पछि नहट्ने जवाफ सभापति शेरबहादुर देउवालाई पनि दिइसकेको बुझिएको छ । देउवाले केही हप्ता अघि सिंहसँग एक्ला एक्लै भेटेका थिए । भेटमा सिंहलाई साथ दिन आग्रह गर्दा सिंहले उल्टै आफूलाई साथ दिन भनेको बुझिएको छ । उनी देउवाविरुद्ध पनि आक्रामक रुपमा प्रस्तुत हुन थालेका छन् । देउवाले पार्टीलाई बलियो बनाउन नसकेको उनको आरोप छ ।

पौडेलले देउवालाई चुनाव हराउन नसक्ने र देउवाले पार्टी राम्ररी हाँक्न नसक्ने तर्क गर्दै आएका सिंह पछिल्लो समय ढुक्क साथ सभापतिको उम्मेदवार बन्छु भन्नुलाई अर्थपूर्ण मानिएको छ । उनलाई काँग्रेसको दोस्रो र तेस्रो पुस्ताका नेताहरुको समर्थन पनि बढ्दै गएको बुझिएको छ । यसकारण पनि उनी उत्साही भएको बुझिएको छ ।

१२औं महाधिवेशनमा प्रकाशमान सिंह निर्वाचित महामन्त्री हुन् । काँग्रेसको इतिहासमा पहिलोपटक निर्वाचित महामन्त्री बनेका सिंहले चुनावमा सभापतिमा विजयी सुशील कोइरालाभन्दा बढी मत ल्याएर प्रतिद्वन्द्वी विमलेन्द्र निधिलाई हराएका थिए ।

काँग्रेसका कुनैबेलाका सर्वमान्य नेता गणेशमान सिंहका छोरा प्रकाशमान बाबुले देखाएको त्यागको राजनीतिका कारण पनि प्रीय छन् । गणेशमानको छोरा हुनुले पनि उनी सभापतिका बलियो उम्मेदवार रहेको विश्लेषण भइरहेको छ । त्यसमाथि अधिवेशनमा उनको बलियो पकड देखिदै गएको छ ।

 



प्रतिक्रिया दिनुहोस्