Logo

थापाको नेतृत्वमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघमा ४५ सदस्यीय केन्द्रीय समिति गठन, मजदुर अधिकारको लागि आन्दोलन गर्ने



काठमाडौ., २० असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको अध्यक्ष बिनोद थापाको नेतृत्वमा केन्द्रीय समिति गठन भएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर महासंघले काभ्रेमा असोज १६ गते सुरु भएर १८ गते सम्पन्न गरेको सातौं राष्ट्रिय सम्मेलनले थापाको नेतृत्वमा ४५ सदस्यीय केन्द्रीय सदस्य समिति चयन गरेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै नवनिर्वाचित केन्द्रीय अध्यक्ष बिनोद थापाले नेपालको कानुन श्रमिकको विरुद्धमा भएको बताए । पुँजीपति वर्गको शोषणमा पिसिँदै आएको लाखौ श्रमिक वर्गको उचित ज्याला ट्रेड युनियनले हक र सामाजिक संस्थाको ग्यारेन्टी, श्रमिकहरुको पेशागत तथा राजनैतिक हक अधिकारलाई केन्द्रमा राखेर आफूहरुले सम्मेलनको आयोजना गरेको जानकारी दिए ।

उनले योगदानमा आधारित सामाजिक सुरक्षा योजना ऐनका श्रमिक हितबिरोधी प्रावधानहरु श्रम ऐन २०४८ को दफा १४७ तत्काल खारेज गर्न र सोही ऐनको दफा १४५ माथि ध्यानाकृष्ट गर्दै विद्यमान रुपमा रहेको ट्रेड युनियन कानुन २०४९ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ मा रहेका श्रमिक हितविरोधी प्रावधान हटाउन बिद्रोहको लहर सिर्जना गर्ने उद्देश्यसमेत उक्त सम्मेलनले लिएको स्मरण गराए ।

श्रम ऐन राम्रो र उत्कृष्ट भनिएपनि मजदुरको समस्या जस्ताको त्यस्तै भएको पनि उनको भनाई छ । उनले कोरोना महामारीमा हजारांै मजदुरहरु बेरोजगार भएको पनि सुनाए । नेपालको कानुन श्रमिकको हितमा नभएको उनको भनाई थियो । मजदुर विरुद्धको प्रत्येक सरकारको कदमलाई आफूहरुको ट्रेड युनियनले असहयोग गर्ने उनले चेतावनी दिए ।

ज्यालादारी मजदुरहरुको पक्षमा राज्यले काम नगरेको उनको आरोप थियो । उनले भने,‘अहिलेको कानुन नेपाली जनता र मजदुरको पक्षमा छैन् ।’ उनले आउट सोर्सिंगबाट मजदुरलाई करारमा नियुक्त गरिने प्रावधान खारेज गर्न पनि माग गरे । उनले सेक्युरीटीज कम्पनीका हाकीमहरुले ठुला–ठुला होटलमा मोज गर्ने तर मजदुरहरु आफ्नो मुक्तिको लागि संघर्ष गरिरहेको बताए । उनले मजदुर अधिकारको लागि आन्दोलन गर्ने पनि जानकारी दिए । दक्ष जनशक्तिलाई विदेश पठाएर नेपालमा दलालहरु रमाइरहेको उनको भनाई थियो ।

 



प्रतिक्रिया दिनुहोस्