Logo

‘हामी चाँडोभन्दा चाँडो राजसंस्थालाई वेलकम र गणतन्त्रलाई बाई–बाई गर्न आँतुर छौं’ अध्यक्ष तामाङ



काठमाडौं, २० असोज । लाक्पा तामाङ नेतृत्वको राप्रपा नेपालका राष्ट्रिय अध्यक्ष आईताराम तामाङले देश र जनताको हितको लागि पनि राजसंस्था आवश्यक रहेको बताएका छन् । आफ्नो पार्टीले राजसंस्था ल्याउनको लागि कार्यक्रमिक योजनासहित पाईला चालेको उनको भनाई छ ।

उनले वैदिक सनातनसहितको राजसंस्था आजको आवश्यकत्ता भएकोले पार्टीले सोहीअनुसार गतिविधि गरेको स्पष्ट पारे । उनले भने,‘आजको परिवेशले पनि नेपालमा राजसंस्थाको आवश्यकत्ता महशुस गरेको छ । देश अहिले अभिभावकविहीन भएको छ । त्यसैले हामीले अभिभावकीय संस्थाको रुपमा राजसंस्था आवश्यक छ भनेका छौं । यसको लागि हामीले आफ्नो तर्फबाट सक्दो पहल र प्रयत्न गरिरहेका छौं ।’ नेपाली जनताले नै अब राजसंस्था चाहिन्छ भनेर भन्न थालिसकेको पनि उनले सुनाए ।

उनले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाबाट देश कुनैपनि हालतमा उँभो नलाग्ने जिकिर गरे । रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा उनले भने,‘गणतन्त्रबाट देश उँभो लाग्दैन् । यो व्यवस्था रहिरह्यो भने नेपालीहरुको भाग्य र भविष्य अझै अन्धकार हुने भकोले हामीले गणन्त्रलाई विदाई गर्न अब ढिलाई गर्नुहुँदैन् ।’ उनले राजा देशको अभिभावक हुने भएकोले जतिसक्दो चाँडो राजसंस्था पूनःस्थापना गरिनुपर्ने पनि बताए ।

उनले नेपालजस्तो देशमा संघीयता लादिनु देश र जनताकै लागि दुर्भाग्य भएको पनि टिप्पणी गरे । संघीयताले देशको अर्थतन्त्रलाई ध्वस्त बनाएको र सिंहदरबारमा भएको भ्रष्टाचार गाउँ गाउँमा पुगेको भन्दै तत्काल संघीयतालाई पनि खारेज गर्नुपर्ने उनको माग छ । उनले २०४७ सालको संविधानलाई पूनःस्थापना गरेर अघि बढ्नु नै देशको हितमा हुने विचार राखे ।

अहिलेको परिवेशमा राजसंस्था पूनःस्थापना गर्न सजिलो छ र भनेर राखिएको जिज्ञासमा उनले भने,‘हामी राजसंस्था पूनःस्थापनाको लागि जनतालाई आह्वान गर्छों । राजसंस्था नेपालमा किन आवश्यक छ, र यो गणतन्त्र किन खराब छ भनेर जनतालाई घरघरमा गएर सचेत गराउँछौं । देशदेखि विदेशसम्म छरिएर रहेका नेपाली जनतासामू राजसंस्थाको बारेमा वकालत गर्छौं । हुन त अहिले सबै जनताले देशमा राजसंस्था आवश्यक छ भनेर महशुस गरेका छन् । अहिलेको राजनीतिक व्यवस्थाबाट देश चल्दैन् ।’

उनले देशमा विद्यमान राजनीतिक व्यवस्थाले भ्रष्टाचार र अनियमितता मौलाएको र यसले राज्यको ढुकुटी रित्याउनेबाहेक अरु केही नगरेको पनि आक्रोश पोखे । वैदिशक सनातनसहितको राजसंस्था स्थापनाको लागि सम्पूर्ण राजावादी शक्तिहरु एक हुनुपर्ने उनको धारणा छ । उनले भने,‘हामीले त चाँडोभन्दा चाँडो राजालाई वेलकम र गणतन्त्रलाई बाई–बाई गर्ने सोच बनाएका छौं । त्यहीअनुसार अभियानमा लागेका छौं ।’

तामाङले आफ्नो पार्टीेले देशमा निःशुल्क शिक्षा र स्वास्थ्य सबै जनताको पहूँचमा पुग्नुपर्यो भनेर नीति लिएको पनि सुनाए । त्यस्तै, भ्रष्टाचारमा शून्य सहनसिलता हुनुपर्ने पनि पार्टीको अर्को उद्देश्य रहेको उनले सेयर गरे । नेपालको राष्ट्रियता, स्वाभिमान र स्वाधिनतालाई शिरमा राखेर विदेश नीति अपनाउनुपर्ने, र भारत र चीनजस्ता शक्तिशाली मित्रराष्ट्र दुवै देशसँग सन्तुलित कुटनीतिक द्धिपक्षीय सम्बन्ध कायम गर्नुपर्ने पनि उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्