Logo

कोशी कोरिडोर विद्युत प्रसारणलाइन बन्यो



काठमाडौं, २० असोज । २२० केभि डबल सर्किट क्षमताको कोशी कोरिडोर विद्युत प्रसारणलाइनको निर्माण सम्पन्न भएको छ । भारत सरकारले नेपाललाई एक्जिम बैंकमार्फत उपलब्ध गराएको ५५० मिलियन अमेरिकी डलर ऋण सहयोग अन्तर्गत इनर्वा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो ।

धनकुटाको हिलेमा आज एक कार्यक्रमको आयोजना गरेर नेपाल विद्युत प्राधिकरणलाई विद्युत प्रसारणलाइन हस्तान्तरण भएको हो ।

कलपत्रु पावर ट्रन्समिसन लिमिटेड र भारतको एक्जिम बैंकले दूतावासका नियोग–उपप्रमुख नामग्य खम्पाको उपस्थितिमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिड.लाई परियोजना हस्तान्तरण भएको हो । समारोहमा धनकुटा र हिले प्रशासनका प्रतिनिधि, कलपत्रु पावर ट्रन्समिसन लिमिटेडका अधिकारीका साथै स्थानीय समुदायका प्रतिनिधिहरुको उपस्थिति थियो ।

१०६ किमि लामो कोशी कोरिडोर विद्युत प्रसारणलाइनको निर्माण कूल १०.४ अर्ब रुपैयाँ लागतमा निर्माण भएको हो । भारत सरकारले नेपाललाई एक्जिम बैंकमार्फत उपलब्ध गराएको ५५० मिलियन अमेरिकी डलर ऋण सहयोग अन्तर्गत यस प्रसारण लाइनको निर्माण भइरहेको छ । भारतको कलपत्रु पावर ट्रन्समिसन लिमिटेडले ४.५ अर्ब  रुपैयाँ परियोजनाको पहिलो प्याकेजको निर्माणको जिम्मा लिएकोमा उक्त प्याकेजको सफलतापूर्वक निर्माण सम्पन्न भई नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण भएको छ ।

बाँकी दुईवटा प्याकेजको निर्माण सम्पन्न भएपछि यस सिंगो परियोजनाले अरुण र तमोर नदीका जलविद्युत परियोजनाबाट उत्पादन हुने करिब २००० मेगावाट विजुलीको सहज वितरणलाई सुनिश्चित गर्ने जनाइएको छ ।

हस्तान्तरण कार्यक्रममा नियोग–उपप्रमुख खम्पाले भारत उर्जा क्षेत्रको सबै पक्षमा द्विपक्षीय सहकार्य गर्न प्रतिबद्ध रहेको चर्चा गरिन् । उनले नेपालमा विद्युत परियोजनाको विकास गर्न, नेपालभित्र र दुई देशबीच विद्युत प्रसारणलाइनको निर्माण गर्न र दुई देशबीच विद्युत व्यापार विस्तार गर्न भारत प्रतिबद्ध रहेको पनि उल्लेख गरिन् ।

उनले गुणस्तरिय र समयमै निर्माण कार्य सम्पन्न गरेकोमा कलपत्रु पावर ट्रन्समिसन लिमिटेडलाई धन्यवाद दिइन् । परियोजना सम्पन्न गर्न सहयोग गर्ने नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण र स्थानीय प्रशासन प्रति पनि आभार प्रकट गरिन् ।

कोशी कोरिडोरको अतिरिक्त भारतले १३२ केभि क्षमताका मोदी–लेखनाथ र सोलु कोरिडोर विद्युत प्रसारणलाइनको निर्माणमा पनि सहयोग गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्