Logo

प्रहरी दिवसकै दिन पालसहित प्रहरीविरुद्ध ‘फेक इन्काउन्टर’ को आरोपसहित किटानी जाहेरी



काठमाडौं, २० असोज । आज प्रहरी दिवस । तर, प्रहरी दिवसकै दिन एआइजी हरिबहादुर पालसहित प्रहरीविरुद्ध किटानी जाहेरी दिइएको छ । त्यो जाहेरी कुमार पौडेलको ‘फेक इन्काउन्टर’ को आरोपसहित दिइएको हो ।

सर्लाहीमा विप्लव समूहका कुमार पौडेललाई पक्राउ पछि गोली हानेको भन्दै उनकी आमा दुर्गादेवी पौडेलले १० जनाविरुद्ध जाहेरी दिएकी हुन् । जाहेरीमा हाल एआइजी रहेका प्रदेश २ का तत्कालीन डिआइजी हरिबहादुर पाल, सीडीओ कृष्णबहादुर राउत, एसपी गोपालचन्द्र भट्टराई, इन्सपेक्टर किरणप्रसाद न्यौपाने र कृष्णदेव प्रसाद साह, सई सुर्यकुमार कार्की, हवल्दारहरु सत्यनारायण मिश्र बिनोद साह र जिल्ला अस्पताल सर्लाहीका डा. वीरेन्द्रकुमार मण्डलविरुद्ध किटानी जाहेरी दिएकी हुन् । बागमती नगरपालिकाका मेयर भरतकुमार थापालाई पनि संलग्न रहेको आरोपपत्र दर्ता भएको छ ।

५ असार २०७६ मा सर्लाहीको लालबन्दी नगरपालिकास्थित लखन्देही जंगल नजिक कुमार पौडेल मारिएका थिए । विप्लव समूहका नेता उनी भिडन्तमा मारिएको प्रहरीले बताएको थियो । उनको साथबाट पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको थियो । तर, उनको परिवारले फेक इन्काउन्टर भन्दै आएको छ ।

घटनाको समयमा रामबहादुर थापा बादल गृहमन्त्री थिए भने आइजीपी सर्वेन्द्र खनाल थिए । उनीहरुको ठाडो निर्देशनमा पौडेलको हत्या भएको आरोप परिवारले लगाउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्