Logo

जहाँ घटस्थापनादेखि पूर्णिमासम्म महिलालाई मन्दिर प्रवेशमा रोक लगाईन्छ



जनकपुर, असोज २१ । जनकपुरमा नवरात्रका प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लागे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध गरिने परम्परा कायमै छ ।

प्राचीन मिथिलाको राजधानी तथा अहिले प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरको श्रीराम मन्दिरको उत्तरपट्टी रहेको राजर्षी जनककी कुलदेवी राजदेवी मन्दिरमा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध गरिने परम्परा अहिले पनि कायमै छ । सो अवधिमा महिलाका लागि मन्दिरको एक झ्याल खुल्ला गरिएको हुन्छ, त्यही झ्यालबाट पूजाअर्चना गरेर फर्किनुपर्छ ।

राजदेवीको मन्दिरमा परापूर्वकालमा पूजा गर्न एक महिला मन्दिरको भित्री भागमा प्रवेश गरेको र उनी बेपत्ता भएको जनविश्वास रहेकाले सो मन्दिरभित्र महिलाको प्रवेशमा रोक लगाइएको छ । तान्त्रिक विधिमा पूजा हुने भएकाले पनि महिलालाई मन्दिरमा प्रवेश गर्न रोक लगाइएको हुनसक्ने केहीको अनुमान छ ।

विसं २०२० तिर नरेशानन्द गिरी नामका महन्थले यहाँको बलिप्रथा रोकेर बलि नचढाउँदा उनलाई अनिष्ट भएकाले पछि क्षमापूजा गरी बलि चढाइएको थियो । दशैंमा राममन्दिर र जानकी मन्दिरमा पूजाको विधि विधानमा फेर बदल नभए पनि पूजा गर्ने द्वार र महिलाको प्रवेशमा फरक हुने गरेको छ । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई मन्दिर भित्र प्रवेश निषेध गरिए पनि त्यसपछि भने उनीहरुका लागि पनि खुला हुने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्