Logo

गोदाममा चामल छ, किन्दैनन् उपभोक्ता



वीरगन्ज, असोज २१ । पर्साको वीरगन्जमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा चाडपर्वका लागि लक्षित गरी चामल खरिदको व्यवस्था मिलाइएको भए पनि चामल खरिदका लागि उपभोक्ता नै नजाने गरेको पाइएको छ ।

मध्य तराईको पर्सा, बारा र रौतहटका उपभोक्तालाई लक्षित गरी पर्सामा रहेको राज्य मातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा चाडपर्वलाई लक्षित गरी उपभोक्ताका लागि बिक्री खुला गरिएको छ । तर, असोज १ देखि चाडपर्वलाई लक्षित गरी खाद्यान्न छुटसहित बिक्री खुला गरिएको कम्पनीबाट जम्मा साढे चार क्विन्टल मात्र बिक्री भएको छ।

बिक्री भएको चामल पनि स्टिम जिरा मसिनो चामल रहेको कम्पनीका प्रमुख विकास कटुवालले बर्ताए । चाडपर्वका समयमा राज्यको तर्फबाट दिएको छुटको चामल किन्न उपभोक्ता आउने नै नगरेको त्यहाँका कर्मचारीले बताएका छन् ।

चाडपर्वलाई लक्षित गरी कम्पनीले तीन हजार क्विन्टल सोना मन्सुली, चार हजार क्विन्टल स्टिम जिरा मसिनो र एक हजार क्विन्टल बासमती चालम कम्पनीले मौज्दात राखेको छ। तर, उपभोक्ताको ध्यान अझै राज्यको सस्तो बिक्री कक्षतर्फ नपुगेको साविकको खाद्य संस्थान हालको कम्पनीका प्रमुख कटुवालले बताए।

खुला सीमाको फाइदा उठाउँदै उपभोक्ता ठग्न पल्केका खाद्यान्नको कारोबारीको चंगुल र घर छेउबाटै अलि बढी मूल्यमा नै भए पनि किन्न बानी परेका उपभोक्ताका कारण मिसावट नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल यत्तिकै थन्किएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्