Logo

युनिसेफको निष्कर्षः बालबालिका र युवामा कोभिडको असर गम्भीर



काठमाडौं, असोज २१ । बालअधिकारका लागि राष्ट्रसंघीय निकाय युनिसेफले कोभिड–१९ का कारण बालबालिका र युवाकोे मानसिक स्वास्थ्यमा गम्भीर असर परेको तर त्यसको सानो अंश मात्र बाहिर प्रकट भएको जनाएको छ ।

युवामा हुने मानसिक समस्याका कारण अर्थतन्त्रमा हरेक वर्ष लगभग ३ खर्ब ९० अर्ब डलर नोक्सान हुने नयाँ विश्लेषणले देखाएको युनिसेफले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ ।

बालबालिका र युवाहरूले आफ्नो मानसिक स्वास्थ्य र प्रवद्र्धनमा कोभिड–१९ को असर धेरै वर्षसम्म महसुस गर्नेछन्, युनिसेफले जारी गरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

‘२१औं शताब्दीमा बालबालिका, किशोरकिशोरी र हेरचाहकर्ताहरूको मानसिक स्वास्थ्यका बारेमा युनिसेफले अहिलेसम्म गरेको सबैभन्दा व्यापक विश्लेषण’ भन्दै सार्वजनिक गरिएको प्रतिवेदनमा कोभिड–१९ भन्दा पहिलेदेखि नै यस विषयलाई सम्बोधन गरेर खासै कुनै महत्वपूर्ण लगानी नभएकाले बालबालिका र युवाहरूले मानसिक स्वास्थ्यसम्बन्धी बोझको तौल बढेको हो ।

युनिसेफका अनुसार विश्वव्यापीरूपमा १० देखि १९ वर्ष उमेर समूहका ७ मध्ये १ किशोरकिशोरी मानसिक समस्याका साथ बाँचिरहेका छन् । मानसिक समस्याको परिणामका रूपमा रहेका शीर्ष पाँच कारणमध्ये एक आत्महत्या रहेको प्रतिवेदनमा जनाइएको छ ।

‘विश्वमा प्रत्येक वर्ष आत्महत्याका कारण लगभग ४६ हजार किशोरकिशोरीको मृत्यु हुन्छ’, प्रतिवेदनमा भनिएको छ– ‘मानसिक स्वास्थ्यसम्बन्धी आवश्यकताहरू र मानसिक स्वास्थ्य कोषको बीच ठूलो अन्तर छ । विश्वव्यापीरूपमा सरकारी स्वास्थ्य बजेटको लगभग २ प्रतिशत मात्रै मानसिक स्वास्थ्यको लागि खर्च भनेर छुट्याइएको छ ।’ नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्