Logo

सह-महामन्त्री डा. महतको नेतृत्वमा कांग्रेसको टोली भारत प्रस्थान



काठमाडौँ, २१ असोज: नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोली आज भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेको छ ।

भारतीय जनता पार्टीको निमन्त्रणामा डा. महत नेतृत्वको टोली आज त्यसतर्फ लागेको हो । सो टोलीमा नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र सागरशम्शेर राणा छन् । पाँच दिनको भ्रमणका क्रममा उनीहरुले भारतीय जनता पार्टीका अध्यक्ष तथा नेताहरुका साथै भारतीय विदेशमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका सहमहामन्त्री डा महतको आमन्त्रणामा केही हप्ताअघि भारतीय जनता पार्टीको विदेश विभागका प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका थिए । त्यस भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, सहमहामन्त्री डा महतसहित नेपाली कांग्रेस र अन्य राजनीतिक दलका नेतासँग भेटवार्ता गरेका थिए ।

त्यसपछि भारतीय जनता पार्टीको आमन्त्रणामा डा. महत नेतृत्वको टोली आज भारत लागेको हो । दिल्ली प्रस्थान गर्नुअघि डा. महतले यो भ्रमणले नेपाली कांग्रेस र भारतीय जनता पार्टीका साथै नेपाल र भारत सरकारबीचको सम्बन्धलाई थप सुदृढ गर्न सहयोग गर्ने बताए ।

उनले भने,“केही अघि भारतीय जनता पार्टीका नेता नेपाल आउनुभयो र आज हामी भारततर्फ जाँदैछौँ, दुई दलबीचको यो भ्रमण आदानप्रदानले आपसी समझ्दारी र एक अर्काप्रतिको बुझाइमा सहयोग पु¥याउने छ ।”

यस्ता भ्रमणका क्रममा आपसी समझ्दारीमा वृद्धि हुनुका साथै दुई दल र त्यसमार्फत् दुवै देशका सरकारसमक्ष आफ्ना सरोकारका कुरा राख्न र आफ्ना विषयवस्तु बुझाउन पनि मद्दत पुग्ने उनले बताए ।

नेपाली कांग्रेसको यो प्रतिनिधिमण्डलले भारतीय जनता पार्टीको नेतृत्वमार्फत् नेपालको चासो, हित र सरोकारका विषय भारत सरकारसमक्ष पु¥याउन पनि मद्दत पुग्ने उनले बताए ।-रासस



प्रतिक्रिया दिनुहोस्