Logo

भारत भ्रमणको क्रममा हाम्रो मोदीसँग भेट हुँदैन् : उदयशमशेर राणा (भिडिओसहित)



नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री उदयशमशेर राणाले आफूहरुले भारत भ्रमणको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यतालिका नभएको स्पष्ट पारेका छन् । अहिले भाजपाको निम्तोमा आफूहरु भारत गएको पनि उनको भनाई छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रस्तुत छ नेता राणासँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

आज तपाईंहरु भारत जादैहुनुहुन्छ, किन जान लाग्नुभएको हो ?

आज हामी तीन जना भारत जादैछौं । हाम्रो टोलीको नेतृत्व पार्टीका सहमहामन्त्री डा.प्रकाशशरण महतले गर्नुहुनेछ । पूर्व राज्यमन्त्री अजय चौरासिया र म गरि हामी तीन जना भारत जादैछौं । यो चाहीँ भारतीय जनता पार्टीको निमन्त्रणामा हुन लागेको भ्रमण हो । हाम्रो पार्टीलाई बोलाइएको हो । पार्टीको प्रतिनिधित्व गर्दै हामी जादैछौं ।

कस्ता एजेन्डा लिएर जाँदैहुनुहुन्छ ? क–कसलाई भेट गर्ने कार्यक्रम छ ?

हाम्रो खास एजेन्डा केही पनि छैन् । यो भारतीय जनता पार्टी र नेपाली काँग्रेसबीचको एउटा एक्सचेन्ज प्रोग्राम हो । योभन्दा पहिला हामीले भाजपालाई निमन्त्रणा गरेका थियौं । भाजपाको तर्फबाट विदेश विभाग प्रमुख डा. विजया चौथाईवाला चार हप्ता अघि नेपाल आउनुभएको थियो । उहाँ स्वदेश फर्किसकेपछि हामीलाई पनि बोलाउनुभएको हो ।

तपाईंहरुले भारतीय जनता पार्टीका शीर्ष नेताहरुसँग भेटवार्ता गर्दै हुनुहुन्छ, कोसँग र कहिले भेट्दै हुनुहुन्छ ?

हाम्रो आज साँझ बिजेपीको राष्ट्रिय अध्यक्ष जेपी नाड्डाज्युसँग भेट गर्ने तालिका छ । यस्तै भोलि दिल्लीमा बिहान बिजेपीका बिभिन्न पदाधिकारिहरुसँग हाम्रो मिटिङ छ । बिजेपीले आफ्नो पार्टीको बारेमा प्रस्तुतीकरण गर्ने भनेको छ । पार्टीगत रुपमा उहाँहरुले कसरी काम गरिरहनुभएको छ, हामीले कसरी काम गरेका छौं । यस विषयमा हाम्रो छलफल हुन्छ । भोली ३ बजे परराष्ट्रमन्त्रीज्युसँग मिटिङ रहेको छ । पर्सी चाहीँ हामी लखनउ गएर त्यहाँ उत्तर प्रदेशका मुख्यमन्त्रीज्युसँग भेट गर्नेछौं । त्यसपछि हामी बनारस गएर काशी विश्वनाथमा दर्शन गर्ने कार्यक्रम रहेको छ । साथसाथै हाम्रो बि.एच.युमा पनि हाम्रो नेपाल च्याप्टरले केही अन्तरक्रिया गर्ने कार्यक्रम राखेको छ ।

तपाईंहरु शेरबहादुर देउवाको प्रतिनिधि भएर जादैँ हुनुहुन्छ, प्रधानमन्त्रीको भारत भ्रमणबारे पनि कुरा हुन्छ त ?

हामी अहिले प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिनिधि भएर जान लागेका होइनौं । पहिलो कुरा हामी नेपाली काँगे्रसको प्रतिनिधि भएर जान लागेका हौं । दोस्रो कुरा पक्कापनि पार्टी सभापतिले नै हामीलाई खटाउनु भएको हो भन्ने मैले बुझेको छु । त्यसबारे हाम्रो दुई चरणमा कुरा हुन्छ । एउटा दुई पार्टी बिचको अन्तक्रिया र पार्टी÷पार्टी बिचको सम्बन्ध कायम राख्नुपर्छ भन्ने विषयमा हाम्रो छलफल हुन्छ । अर्को चाहीँ स्वभाविक रुपमा नेपाल–भारत सम्बन्धलाई अझै कसरी सुधार्ने भन्ने विषयमा छलफल हुन्छ । यो सरकार र सरकारबीचको वार्ता होइन् । यो अनौपचारिक वार्ता हो । दुईवटै रूलिङ पार्टी भएको हुँदा कतिपय कुरा हामीले उहाँहरुलाई पार्टी र पार्टीबीचको च्यानलमा भन्दापनि यसले पक्कै पनि सरकारलाई प्रभाव पार्छ । विशेष गरेर हामीले यसपालिको यो कार्यक्रमहरुमा चाहीँ नेपालको आर्थिक विकासको निम्ति भारतसँग हामीले के–के सहयोग लिन सक्छौं र हामीले पनि के गर्नसक्छौं । साथै, हाम्रो जुन लिंक भारतसँग छ ट्रेड लिंकहरु त्यसलाई हामीले कसरी सुधार्न सक्छौं । यी विविध विषयहरुमा छलफल हुन्छ । त्यसपछि हाम्रो समस्याबारे र हाम्रो आर्थिक विकासको निम्ति भारतले के चाँहेको छ । त्यो पनि हामीले उहाँहरुलाई अनौपचारिक रुपमा जानकारी गराउँछौं । उहाँहरुको पनि नेपालसँग कतिपय कुराहरुमा केही आशा होला । त्यो पनि उहाँहरुले हामीहरुलाई बताउनु हुनेछ । हामी फर्किसकेपछि हामी हाम्रा नेताहरुलाई सबै कुराहरुको जानकारी दिनेछौं । हाम्रा प्रधानमन्त्रीज्युलाई पनि हामीले सबै कुराको जानकारी दिनेछौं । हाम्रो परराष्ट्र मन्त्रालयमा पनि हामीले ब्रिफिङ गर्छौं । जानु अगाडि पनि हामीले परराष्ट्र मन्त्रायल र राजदूतावासलाई जानकारी गराइसकेका छौं ।

तपाईंहरु प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको वातावरण बनाउन जान लाग्नुभएको हो ?

होइन । हाम्रो यसबारे कुरा हुँदैन् । अहिलेको भ्रमणको एजेन्डा यो होइन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग तपाईंहरुको कुरा हुँदैन ?

हुँदैन । हाम्रो भेट पार्टीका नेताहरुसँग हुन्छ । हामीले व्यक्तिगत रुपमा चिनेका कतिपय मन्त्रीहरु हुनुहुन्छ, उहाँहरुलाई पनि हामीले भेट्छौं । केही साथीहरुसँग भेट गर्ने हामीले एजेन्डामा राखेका छौं । तर, विशेषगरेर भारतीय जनता पार्टीका नेताहरुसँग हामी भेट गर्नेछौं ।

तपाईँहरु भारत जादै हुनुहुन्छ । दशैं आइसकेको छ, सामानहरु नाकामै रोकिएका छन् । चीनले अहिलेसम्म नाका खोलेको छैन् । यस विषयमा तपाईहरुको दृष्टिकोण के हो ?

उत्तरी नाका खुल्नुपर्ने हो । हाम्रै पार्टीका केन्द्रीय सदस्यलगायत केही साथीहरु गएर परराष्ट्रमन्त्रीसँग कुरा राखिसक्नुभएको छ । परराष्ट्र मन्त्रालयले पनि यो कुरालाई अगाडि बढाउछु भनेको हो । तर, विशेषगरेर यो दशैंको सन्दर्भमा मात्र होइन् हामीजस्तो भू–परिवेष्ठित देशको निम्ति कनेक्टिभिटी अत्यन्तै जरुरी हुन्छ । त्यो भारतसँग होस अथवा चीनसँग होस । किनभने हाम्रोजस्तो देशको कनेक्टिभिटी नभएपनि यसले हाम्रो अर्थतन्त्रलाई मात्र होइन हाम्रो आर्थिक विकासलाई पनि अफठ्यारो पार्छ । यो दुई चार वर्षदेखि नै देखिएको छ । त्यसैगरि परराष्ट्रमन्त्री र यो सरकारको प्रमुख एजेन्डा भनेको चीनसँग जुन कनेक्टिभिटी छ, अझ भूकम्पपछि यसमा धेरै समस्या आएको छ । यसमा छिटोभन्दा छिटो खुलाउन यो सरकारको प्राथमिकताको काम हो । म चिनियाँ सरकारलाई पनि आग्रह गर्न चाहन्छु । यसले यो सरकारलाई मात्र होइन् सम्पूर्ण नेपाली जनता र विशेषगरेर उत्तरी भेगमा बसेका नेपाली नागरिकहरुलाई यसले ठुलो असर पारेको छ ।

नोट : यो अन्तवार्ता सामाग्री तयार पार्दासम्म राणा भारत प्रस्थान गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्