Logo

६९ वर्षमा पनि जोसिला पुटिन



एजेन्सी, २१ असोज । रुसी राष्टपति भ्लादिमिर पुटिन आजबाट ६९ वर्ष लागेका छन् । विश्वकै शक्तिशाली व्यक्ति मध्येका पुटिनमा अझै जोस र जाँगर छ ।

७ अक्टोबर सन् १९५२ मा रुसको लेनिग्राड हाल सेन्ट पिटसवर्गमा जन्मिएका पुटिनलाई सोच्दै नसोचेको जिम्मेवारी मिलेको हो । उनले कहिले पनि रुसको राष्ट्रपति बन्ने कल्पना गरेका थिएनन् ।

१९७५ मा लेनिनग्राड विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका उनले त्यसपछि रुसी खुफिया एजेन्सी केजीबीको तालिम लिएका थिए । जर्मनीमा गुप्तचरका रुपमा रहेर काम गरे । सन् १९९० मा उनी रुस फर्किएका थिए । लेनिनग्राड विश्वविद्यालयको रेक्टर र लेनिनग्राडका मेयर एनाटोली सोबचकको सल्लाहकारका रुपमा काम गरे ।

पुटिन विदेशमा विदा मनाइरहँदा उनलाई गुप्तचर निकायमा जिम्मेवारीका लागि बोलाइयो । तर, उनी तयार भएनन् । रुसी अधिकारीहरु विदेशमै पुगेर उनलाई बल्लतल्ल मनाउन सके । सामान्य जीवनमा फर्किइसकेका पुटिनको जीवनमा त्यही घटनाले नयाँ मोड लियो । उनी सुरक्षा सर्भिसको निर्देशक हुँदै सुरक्षा परिषदको सचिव बनाइए ।

सन् १९९९ मा रुसी राष्ट्रपति बोरिस यल्तसिनले भ्लादिमिर पुटिनलाई सरकारको उपप्रमुख बनाए । क्याबिनेटको कार्यकारी प्रमुख समेतको जिम्मेवारी दिए । उनले पुटिनलाई आफ्नो उत्तराधिकारी घोषणा गरे । त्यसपछि रुसी संसद डुमाले पुटिनलाई बहुमतले प्रधानमन्त्री चयन गर्यो । सन् १९९९ को डिसेम्बरमा यल्तसिनले पुटिनलार्य राष्ट्रपतिको जिम्मेवारी सुम्पिए ।

रुसी जनतामाझ खासै नसुनिएका पुटिनको उदय चमत्कारिक थियो । जनतामाझ चिनिन पुटिनले नियमित टेलिभिजन अन्तवार्ताहरु दिइरहे । सन् २००० को राष्ट्रपति चुनावमा बहुमत हासिल गरी विजयी भए । त्यसपछि पुटिनको शासन रुसमा चलिरह्यो ।

पुटिन दुई कार्यकाल राष्ट्रपति बनेर फेरि प्रधानमन्त्री भई रुसको सत्ता चलाए । रुसको संविधान अनुसार दुई कार्यकालभन्दा बढी लगातार राष्ट्रपति बन्न नपाइने थियो ।

पुटिन सन् २००७ मा टाइम म्यागाजिनको पर्सन अफ द एयर घोषित भएका थिए । फोर्बसले २०१३ देखि २०१६ सम्म सबैभन्दा शक्तिशाली व्यक्तिको सूचीमा राख्यो ।

पुटिन जुडो खेलाडी पनि हुन् । १९७६ मा लेनिनग्राडमा जुडो प्रतिष्पर्धामा उपाधि पनि जितेका थिए । उनले जुडोबारे पुस्तक पनि लेखेका छन् । उनी आइस हकी र माछा मार्न सौखिन छन् ।

६९ वर्ष पुग्दा पनि पुटिनमा जोस जाँगरमा कमी आएको छैन । उनी विश्वका नेतामध्ये स्वस्थ र खेलप्रेमी मानिन्छन् । पुटिनमाथि विरोधीप्रति क्रुर बन्ने गरेको आरोप पनि छ ।

होचो कदका पुटिन कम बोल्छन् र धेरै काम गर्न रुचाउँछन् । सोभियत संघको पतनपछि संकटमा परेको रुसको पुनः उदयमा पुटिनको मुख्य योगदान छ । उनले रुसलाई विश्व शक्तिका रुपमा पुनः स्थापित गर्न सकेका छन ।-Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्