Logo

सत्ता गठबन्धनका शिर्ष नेताहरुबीच के के कुरा भयो



काठमाडौं, २१ असोज । सत्ता गठबन्धनमा निकै गहन छलफलपछि मन्त्रीको संख्या र मन्त्रालयबारे लगभग सहमति निस्किएको छ । सहमति बनाउन नेताहरु राजनीतिक लेनदेनमार्फत् लचिलो बन्न तयार भएका छन् ।

मन्त्रालय नपुगेको भन्दै नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी असन्तुष्ट थिए । दुवैले ५-५ मन्त्रालयको कुरा मिलेकोले त्यही हुनुपर्ने अडान लिए । तर, प्रधानमन्त्री शेरबहादुर देउवा तयार भएनन् ।

मन्त्रालय घट्ने हो भने प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्री आफ्नो हुनुपर्ने अडान माधवकुमार नेपालले लिएको बुझिएको छ । त्यसमा देउवा लचिलो भएको विश्वस्त स्रोतले बताएको छ ।

जसपाले पनि उपसभामुख आफ्नो हुनुपर्ने विषय राख्यो । देउवालाई प्रधानमन्त्री बनाउन जसपाले खेलेको भूमिकाको समेत विषय उठेको थियो ।

सत्ता गठबन्धनका शिर्ष नेताहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्र यादव सहभागी थिए । बैठकको बीचमै माधवकुमार नेपाल निस्किएका थिए । उनले बालुवाटारमा भएको कुराकानीको विषयबारे ब्रिफिङ गरेको बुझिएको छ ।

देउवाले विगतमा सहमति भएको भन्दा धेरै मन्त्रालय राख्न खोजे । काँग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई मनाउनका लागि पनि देउवालाई मुश्किल भएको छ । उनले पौडेललाई २ मन्त्रालय दिने भनेपनि ३ मागेका छन् । यसले काँग्रेसभित्र विवाद देखिएको छ ।

आजै सपथ लिने गरी घनिभूत छलफल भएपनि मुश्किल भएको छ । मन्त्रालय घट्दा माधव नेपाल र उपेन्द्र यादवलाई पार्टीभित्र समस्या पर्न सक्छ । आन्तरिक व्यवस्थापनका लागि पनि नेपाल र यादवले समय मागेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्