Logo

भन्सार प्रशासनमा सुधार ल्याइँदै



काठमाडौं, असोज २२ । भन्सार प्रशासनभित्रका समस्या हल गर्न सुधारको काम अघि बढाइने भएको छ । भन्सार प्रणालीमा रहेका समस्यालाई सम्बोधन गर्नेगरी चालू आर्थिक वर्ष २०७८/७९ देखि छैटौं चरणको पाँचवर्षीय भन्सार सुधार तथा आधुनिकीकरण योजना कार्यान्वयनमा लगेको भन्सार विभागले प्रशासनिक सुधारको कामलाई अघि बढाएको हो ।

खासगरी भन्सार विभागअन्तर्गत रहेका अनुगमन र अनुसन्धान शाखामा आमूल परिवर्तन ल्याउने गरी रूपान्तरणको काम अघि बढेको छ ।

यी दुईओटा शाखालाई स्मार्ट बनाएर भन्सार प्रशासनमा ठूलो सुधार ल्याउन लागिएको विभागका महानिर्देशक नारायणप्रसाद सापकोटा बताउँछन् । अनुसन्धान शाखाअन्तर्गत परेका उजुरीहरूको प्रभावकारी अनुसन्धान गर्नेगरी यस शाखालाई थप बलियो बनाइँदै छ ।

उजुरीकै आधारमा ट्र्याकिङ गर्ने, प्रत्यक्ष रूपमा अनुगमन गर्ने, चुहावट भएको छ भने विगतदेखिका प्रज्ञापनपत्रहरूलाई पुनः हेरेर अडिट गर्न सक्नेगरी अनुसन्धान शाखालाई वर्गीकरण गरेर स्मार्ट बनाइँदै छ । अहिले एकीकृत रूपमा प्रज्ञापनपत्रको काम हेरिन्छ, अब गरिने सुधारमा अनुसन्धान शाखाभित्र पनि कामको विभाजन हुनेछ । एउटा कर्मचारीले सामानको घोषणा हेर्नेछ भने अर्काले मूल्यांकन, त्यस्तै अन्य कर्मचारीले वर्गीकरणको काम हेर्नेछन् ।

यसरी तीन चरणमा अनुसन्धान शाखाको काम हुँदा धेरै प्रज्ञापनपत्र हेर्न सकिने र त्यही सूचनाका आधारमा ठूलो चुहावट नियन्त्रण गर्ने विभागको योजना छ । अनुसन्धानजस्तै अनुगमन शाखालाई समेत यसरी नै विभाजन गरे भन्सार प्रशासनमा सुधारको काम अघि बढाइन लागिएको महानिर्देशक सापकोटाको भनाइ छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्