काठमाडौं, असोज २२ । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्नि सापकोटाले राजीनामा नगरेसम्म संसद्को अवरोध जारी रहने बताएका छन् । सभामुख सापकोटा एमाले विभाजनको मतियार भएकाले उनलाई पार्टीले स्वीकार नगर्ने उनको दाबी छ ।
आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रमुख सचेतक भट्टराईले भने, “सभामुखले नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, २०७३, प्रतिनिधिसभा नियमावलीको पालना गर्नुभएन । नियमावली अनुसार पार्टीले सांसदलाई कारबाही गरेको सूचना संसद् चलेको बेला संसद्मा सुनाउने, नचलेको बेला टाँस गर्ने हो । सभामुख ढिलै भए पनि एमालेका १४ जना सांसदमाथि कारबाही गरेको सूचना टाँस गरेर सच्चिन तयार हुनुहुन्न भने मार्ग प्रशस्त गर्नुपर्यो । अरु तटस्थ व्यक्तिले संसद् चलाउँछ ।”
उनले सभामुखले एमालेमाथि अन्याय गरेको आरोप पनि लगाए । उनले थपे, “सभामुखले एमालेलाई अरु पार्टी सरह व्यवहार गर्न सक्नुभएन । सरिता गिरीको २४ घन्टा, टोपबहादुर रायमाझी लगायतको ३० घन्टामा पालना गर्ने सभामुखले एमालेका १४ सांसदमाथिको कारबाहीको सूचना १३ दिनसम्म टाँस्नुभएन र एमाले विभाजनको मतियार बन्नुभयो । उहाँले राजीनामा नगरेसम्म चालू संसद्को अधिवेशनमा पूर्ववत् विरोध यथावत् रहन्छ ।”
जनताले माया गरेको पार्टी एमालेमाथि सर्वोच्च अदालत, निर्वाचन आयोग, सभामुख लगायतले अन्याय गरेकाले आवाज उठाइरहने उनको दृढता छ । अध्यादेश ल्याएर दल फुटाई संसदीय व्यवस्था बदनाम गराउने कामको विरोध प्रमुख प्रतिपक्षले गर्नु स्वाभाविक भएको उनको दाबी छ । उनले भने, “प्रधानमन्त्रीले सत्ता गठबन्धनको बैठकमा एमालेलाई किन मुछ्नुपर्यो ? हामी सर्वदलीय बैठकमा बस्दैनौं । प्रधानमन्त्रीले हामीसँग सीधा संवाद गरे भइहाल्यो नि ।”
तीन महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने सरकारले अरु काम गर्छ भन्ने विश्वास जनतालाई नलागेको पनि उनले बताए । उनले भने, “जनादेशको अवहेलना भएकाले अब जानुपर्ने चुनावमै हो । न्यायालय, निर्वाचन आयोग सेटिङमा चलेका छन् । त्यसैले न्यायाधीश, वकिललाई पदक दिइएको छ । न्यायाधीश नै मन्त्री बनाउन लागेका छन् ।”
आफ्नो पार्टीलाई विभाजनले ४, ५ प्रतिशत मात्र घाटा लाग्न सक्ने तर माधव नेपालको पार्टीले एउटा वडामा पनि जित्न नसक्ने उनले दाबी गरे । उनले भने, “माधव नेपालले कुनै पनि वडामा आफ्नो सामथ्र्यमा जितेर देखाउनोस् । नवौं महाधिवेशनबाट हारेर अध्यक्षको बोर्ड टाँस्नुभएको हो । अब उहाँले त्यो पार्टीमा पेरिस डाँडामा लगेर मिसाउने हो । दोस्रो पार्टी हुने उहाँको हवाई कल्पना हो । कठैबरा माधव नेपाल !”




प्रतिक्रिया