Logo

केहि बेरमा मन्त्रिपरिषद् विस्तार हुँदै, आजै शपथ



काठमाडौं, असोज २२ । झण्डै तीन महिनापछि शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले आज पूर्णता पाउने भएको छ । अहिले बिहान ११ बजे मन्त्रिपरिषद् विस्तार हुने र ४ बजे शपथ गराउने तयारी भईरहेको वालुवाटार स्रोतले जनाएको छ ।

बालुवाटारमा बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएर आज मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएको थियो । सहमति अनुसार कांग्रेसलाई प्रधानमन्त्रीसहित नौ, माओवादी केन्द्रलाई पाँच, जसपा र नेकपा (एकीकृत समाजवादी)ले चार÷चार मन्त्रालय पाउने भएका छन् ।

मन्त्रालय भागबण्डामा असन्तुष्टि राखेको एकीकृत समाजवादीले दुई राज्यमन्त्रीसहित चार मन्त्रालय लिने गरी सहमति जुटेको छ । एकीकृत समाजवादीले स्वास्थ्यसहित चार मन्त्रालय पाएको छ ।

यस्तै शहरी विकास, संस्कृति तथा पर्यटन र श्रम तथा रोजगार मन्त्रालय पनि एकीकृत समाजवादीले नै पाएको छ । कांग्रेसले प्रधानमन्त्रीसहित रक्षा, गृह, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय लगायत पाएको छ ।

नेकपा माओवादी केन्द्रले अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय पाएको छ । जसपाले भौतिक पुर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण पाउने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot