Logo

पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म जान्छ, हामी पैसा र पदको लागि सरकारमा जान लागेको होईन : खतिवडा (भिडिओसहित)



काठमाडौं, २२ असोज । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई असफल बनाउन लागिपरेको भन्ने आरोपमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् । उनले आफूहरु पदको लागि राजनीति गर्ने व्यक्ति नभएको जिकिर गरे । तर, राजनीतिमा लागिसकेपछि पद प्राप्त गर्नु स्वभाविक भएको उनको भनाई छ ।

उनले भने,‘सरकारमा त हामी जानै हुँदैन ? भन्ने कहाँ भनिएको छ ? पैसा र पदको लागि हामी सरकारमा जान लागेको भनेर लगाईएको आरोपमा सत्यता छैन् ।’ हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री देउवाले आफूहरुसँग कुनै गुनासो नराखेको र असन्तुष्टि नपोखेको पनि जिकिर गरे ।

उनले भने,‘हामीले प्रधानमन्त्रीलाई धेरै मन्त्रालय मागेको र बार्गेनिङ गरेको भनेर लगाएको आरोपमा कुनै सत्यता छैन् ।’ उनले जनताको सेवा गर्न पद पनि आवश्यक भएको जिकिर गरे । उनले केपी शर्मा ओलीको कारण मुलुकले अहिले दुर्दशा भोगिरहेको टिप्पणी गरे ।

आफ्नो पार्टी सरकारमा हुँदा विपन्न वर्गलाई राहत दिने कुरामा ईमानदारितापूर्वक सेवा दिने खतिवडाले विश्वास दिलाए । उनले भ्रष्टाचार निन्त्रण गर्नतर्फ सरकारले कदम चाल्नुपर्नेमा जोड दिए । उनले पाँच दलीय गठबन्धन कुनैपनि हालतमा नटुट्ने पनि दाबी गरे । उनले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म जाने पनि दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्