Logo

भारत-चीन सीमा विवाद: अरुणाचलमा दुवै देशका सैनिकबीच पुनः भिडन्त



एजेन्सी, २२ असोज। भारतीय र चिनियाँ सैनिकहरूबीच अरुणाचल प्रदेशको तवाङमा गत साता झडप भएको भारतीय सञ्चारमाध्यम इन्डियन एक्प्रेसले लेखेको छ । प्रेटोलिङको क्रममा दुवै देशका सैनिकबीच झडप सुरु भएको जनाइएको छ ।

अत्यधिक संख्यामा रहेका चिनियाँ सैनिकहरू भारतले दाबी गरेको भू-भागमा प्रवेश गरेपछि भारतीय सैनिकहरूसँग द्वन्द भएको बताइएको छ । त्यसपछि दुवै पक्षले आफ्ना ब्याकअप सैनिकहरू मगाएका थिए । झडप घन्टौँ भएपछि दुवै देशका सैनिकबीच पछि सर्ने सहमति भएको जनाइएको छ ।

एक स्रोतको भनाईलाई उदृत गर्दै इन्डियन एक्सप्रेसले लेखेको छ,‘‘दुवै पक्षले वास्तविक नियन्त्रण रेखामा आफ्नो भूभाग मानेको स्थानमा गश्ती गर्ने क्रममा झडप भएको हो । सीमा स्थायी रूपमा निर्धारित नहुँदा दुवै पक्षको दाबी छ । केही घन्टासम्म आमनेसामनेको स्थितिपछि दुवै सैनिक आआफ्नो स्थानमा फर्केका थिए । भारतीय बंकरहरूमा क्षति पुगेको छैन।’

भारतले तवाङमा ठूलो संख्यामा सैनिकहरू तैनाथ गर्ने गरेको छ । त्यस स्थानलाई चीनले दक्षिण तिब्बत भन्ने गरेको छ । भारत र चीनका सेनाबीच कोर्प्स कमान्डर तहमा निरन्तर वार्ता भैरहेपनि सीमामा झडप जारि रहेको छ। दुबै देशले सीमाबाट आफ्नो सैनिकपछि सर्ने सहमति भएपनि त्यहाँ द्वन्दको स्थिति कायम नै रहेको छ। भारत र चीनका सेनाबीच कोर्प्स कमान्डर तहमा १३औं चरणको वार्ता अर्को साता हुन लागेको बेलामा यो घटना सार्वजनिक भएको हो ।



प्रतिक्रिया दिनुहोस्