Logo

रोमान्चक खेलमा बेल्जियमलाई हराउँदै फ्रान्स फाइनलमा



काठमाडौं, २२ असोज । यूएएफए नेसन्स लिग फुटबलमा फ्रान्स फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको सेमिफाइनल खेलमा बेल्जियमलाई ३–२ गोल अन्तरको रोमान्चक जित निकाल्दै फाइनल प्रवेश गरेको हो । फ्रान्सले बेल्जियमको दुई गोलको सुरुवाती अग्रतालाई उल्टाउँदै रोमान्चक जित निकालेको हो ।

खेलको ३७औं मिनेटमा यान्निक कारास्कोले गोल गर्दै बेल्जियमलाई सुरुआती अग्रता दिलाएका थिए । यस्तै, ४०औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दा बेल्जियम पहिलो हाफमा २–० ले अघि रहेको थियो । तर, दोस्रो हाफमा फ्रान्स खेलमा फकिएपछि शानदार जित निकालेको हो ।

खेलको ६२औं मिनेटमा केलियन एमबाप्पेको पासमा करिम बेन्जिमाले गोल गर्दै खेल २–१ को अवस्थामा पुगेको थियो । ६९औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै खेल २–२ को बराबरीमा पुगेको थियो । त्यसपछि खेलको इन्जुरी समयमा थियो हर्नान्डेजले विजयी गोल गर्दै फ्रान्सलाई ३–२ को जित दिलाए । फ्रान्सले फाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्