Logo

मन्त्रीको नाम टुंगो लागेसँगै दलहरुभित्र भाँडभैलो



काठमाडौं, २२ असोज । सत्ता गठबन्धनका दलहरुमा मन्त्रीको टुंगो लागेको छ । नेपाली काँग्रेसको रामचन्द्र पौडेल समूहबाहेक सबैले मन्त्रीको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेका छन् ।

मन्त्रीको टुंगो लगाउन दलहरुलाई निकै सकस परेको छ । टुंगो लागेपछि व्यापक असन्तुष्टि देखिएको छ ।

नेपाली काँग्रेसको पौडेल समूहले २ मन्त्रीको टुंगो लगाउन सकेको छैन । त्यहाँ विभिन्न उपगुटबीच विवाद बढेको छ । त्यसले पौडेल समूह छिन्नभिन्न हुने अवस्था विकास भएको छ ।

नेकपा माओवादी केन्द्रमा मन्त्रीका आकांक्षी धेरै थिए । यसपटक प्रचण्डले मन्त्री बनाउँदा जनजातिलाई उपेक्षा गरेको भन्दै असन्तुष्टि बढेको छ । विगतमा रोल्पा र वरपरका माओवादी प्रभाव क्षेत्रबाट निर्वाचितलाई मन्त्री बनाउने गरेकोमा प्रचण्डले फरक शैली अपनाएका छन् । यसले त्यस क्षेत्रका सांसदहरु असन्तुष्ट बनेको बुझिएको छ ।

नेकपा एसमा पनि मन्त्री बन्न नपाएकाहरुले असन्तुष्टि प्रकट गर्न थालेका छन् । एमाले विभाजन हुँदा जोखिम मोलेर नेकपा एसमा लागेकाहरुमध्ये कतिपय मन्त्री बन्न चाहिरहेका थिए । तर, नेपालले मन्त्री चयन गर्दा नाम नराखेपछि असन्तुष्ट भएका हुन् ।

जसपाभित्र मन्त्री चयनप्रति तिव्र असन्तुष्टि व्यक्त हुन थालेको छ । रेनु यादवलाई पटक पटक मौका दिएको भन्दै उपेन्द्र यादवप्रति सांसदहरुले असन्तुष्टि पोख्न थालेका छन् । राजेन्द्र श्रेष्ठ जसपाको जनाधार नभएको क्षेत्रको समानुपातिकतर्फको सांसद भन्दै मन्त्री बनाएकोमा असन्तुष्टि देखिएको छ ।

प्रधानमन्त्री देउवाले सरकार बनेको ३ महिना पुग्दै लाग्दा मन्त्रिमण्डललाई पूर्णता दिन खोज्दा दलहरुमा भाडभैलो मच्चिएको छ । तर, देउवाले आफ्नो समूहलाई भने एकतावद्ध नै बनाइराख्न सके ।



प्रतिक्रिया दिनुहोस्

Screenshot