Logo

साफ च्याम्पियनसिपमा नेपालको फाइनल पुग्ने सम्भावना बढ्यो, आइतबार भारतसँग भिड्दै



काठमाडौं, २२ असोज । १३औं साफ च्याम्पियनसिप फुटबलमा नेपाल फाइनलमा पुग्ने सम्भावना बढेको छ । जारी प्रतियोगितामा बंगलादेश माल्दिभ्ससँग पराजित भएपछि र भारतले श्रीलंकासँग बराबरी खेल्दा नेपालको फाइनल यात्रा सहज भएको छ ।

लगातार २ खेलमा २ जित निकालेर ६ अंक जोडेको नेपाल तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपालले पहिलो खेलमा माल्दिभ्स र दोस्रो खेलमा श्रीलंकालाई हराएको थियो । बलियो टोली भारतलाई बराबरीमा रोकेको श्रीलंकाको फाइनल यात्रा भने टरेको छ ।

नेपालले भारतसँग आइतबार खेल्दैछ । भारतसँगको खेल जिते नेपाल एक खेल बाँकी रहँदै फाइनलमा पुग्नेछ । भारतलाई बराबरीमा रोक्न सकेपनि नेपालको फाइनल पुग्नसक्ने सम्भावना रहन्छ । तर, भारतले नेपाललाई हरायो भने अन्य देशको खेलमा भर पर्नुपर्ने हुन्छ ।

बंगलादेश ३ खेल खेल्दा १ जित, १ बराबरी र १ हारसँगै ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । साथै, आयोजक माल्दिभ्स २ खेलमा १ जित र १ हारसँगै ३ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । भारत २ खेलमा २ बराबरीसँगै २ अंक सहित चौथोे स्थानमा रहेको छ । यस्तै, ३ खेलमा २ हार ब्यहोरेको श्रीलंका हीजो (बिहीबार) भारतलाई बराबरीमा रोक्दै पहिलो अंकको रुपमा १ अंक जोडेको छ । श्रीलंका तालिकाको अन्तिममा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्