Logo

‘एमालेलाई पराजित गर्नसक्ने पार्टी यो मुलुकमा जन्मिएकै छैन्’ : विशाल भट्टराई (भिडिओसहित)



प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो पार्टीलाई पराजित गर्न सक्ने पार्टी यो मुलुकमा नजन्मिएको दाबी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । कुराकानीको क्रममा उनले भने,‘खाली के हो भने ९ औं महाधिवेशनमा हारेर १०औं महाधिवेशन नकुरेर पेरिसडाडाँमा गएर बोर्ड टाँस्ने माधव नेपाललाई त्यही बोर्ड चाहिएको हो । त्यसकारण त्यो कुरा कल्पनामात्रै हो । नेकपा (एमाले) लाई पराजित गर्नसक्ने पार्टी यो मुलुकमा जन्मिएकै छैन् । त्यसकारण हामीलाई कुनै डर छैन् । जनताको मत ल्याएर फेरी पनि नेकपा (एमाले)को उदय हुन्छ ।’ प्रस्तुत छ नेता भट्टराईसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

नेकपा (एमाले) ले कहिलेसम्म संसद् चल्न दिदैन ?

नेकपा (एमाले) को पुर्ववत विरोध यथावत रहन्छ । किनभने नेकपा (एमाले) ले जुन आवाज उठाएको थियो, ती आवाजलाई संबोधन गर्नको लागि अहिले पनि ठोस पहल कतैबाट पनि भएको छैन् । न सभामुखको तर्फबाट, न सरकारबाट भएको छ । हामीलाई जे÷जस्तो राज्य–सत्ताका निकायबाट अन्याय भएको छ, नेकपा (एमाले) जनताले माया गरेको पार्टी हो । तर, राज्यका सम्पूर्ण निकायबाट अन्यायमा परेको पार्टी हो । नेकपा (एमाले) ले यसको आवाज अनवरत रूपमा जारी राख्छ । आवाज उठाइरहन्छ । न्याय नपाएसम्म हामीले संसद् चल्न दिँदैनौं ।

संसद्लाई तपाईंहरुले अनिर्णयको बन्दी बनाइरहनुभएको छ । सभामुखले बोलाएको बैठकमा पनि जानुहुँदैन, प्रधानमन्त्रीले बोलाएको बैठकमा पनि जानुहुँदैन । वार्ता पनि नगर्ने अनि संसद चल्न पनि नदिने ? तपाईंहरुले संसदिय व्यवस्थालाई नै धोस्त पार्न खोज्नुभएको हो ?

त्यस्तो विल्कुलै होइन् । नेकपा (एमाले) आजको नेपालको चालु राजनीतिक प्रणाली र यो व्यवस्था स्थापनार्थ धेरै ठुलो लडाईँ लडेर आएको पार्टी हो । ७२ वर्षदेखि हामी मुलुकमा गणतन्त्र र लोकतन्त्रको लागि लडेर आएको पार्टी हो । यसका लागि धेरैले बलिदान गरेका छन् । धेरै मान्छे जेल बसेका छन् । धेरैले दुःख पाएका छन् । त्यसकारण यो पार्टी किञ्चित पनि धर्मराउने पक्षमा छैन् । खाली कुरा के हो भने–यो व्यवस्थालाई नै बदनाम गर्नेगरि जसरी सत्ताबाट अध्यादेश ल्याउने देखि लिएर तमाम कामहरु भइरहेका छन् । यस्ता गतिविधिको भण्डाफोर प्रमुख प्रतिपक्ष हुनुको नाताले एमालेले गरेन भने अरु कसैले पनि गर्दैन । त्यसकारण यस चीजमा नेकपा (एमाले) अघि बढी रहन्छ । प्रधानमन्त्री र सभामुखले बोलाएको बैठकमा नेकपा (एमाले) नजाने होइन् । तर, नेकपा (एमाले) सँग विवाद भइरहेको स्थितिमा किन उहाँहरु एउटा गठबन्धनको बैठक बोलाएर एमालेलाई त्यहाँ मुछ्न चाहनुहुन्छ । एमालेसँगको विवाद हो भने एमालेसँग मात्र कुरा गरे भइहाल्छ नि, सभामुख र प्रधानमन्त्रीले किन अरुसँग बोलाउनुहुन्छ भन्ने हाम्रो प्रश्न हो । हाम्रो पार्टीको अध्यक्षसँग उहाँले सिधा संवाद गर्दा भइहाल्छ नि । किन सर्वदलीय बैठक बोलाउनु हुन्छ भन्ने कुरा हो हाम्रो ।

तर, जनताको कुरा राख्नपर्ने संसद्मा आजको संसदीय व्यवस्थामा तपाईहरुंले जुन काम गरिरहनुभएको छ, यो त गलत हो नि होइन् ?

यसो भनिरहँदा तपाईंहरुले एउटा अर्को के पनि गलत हो भन्नुपर्छ भने नेकपा (एमाले) ले आफ्ना १४ जना सांसदलाई कारबाही गरिसकेको स्थितिमा त्यो कारबाही गरेको सुचना के कारणले सभामुखले अरु पार्टी सरह जारी गर्नुभएन ? सरिता गिरी, टोपहादुर रायमाझीलगायतका अन्य नेताहरुको चाहीँ २४ घण्टामा हुने तर, नेकपा (एमाले) को हकमा चाहीँ उहाँले किन १३ दिनसम्म नगरेर पार्टी विभाजनको एउटा मतियार बनेर पार्टी फुटिसकेपछि केही गर्न नपर्ने भन्ने किसिमको जुन निर्णय गर्नुभयो । त्यो एमालेमाथि गरेको अन्याय हो । अर्को कुरा सम्मानित सर्वाेच्च अदालतले यसभन्दा अघि केपी शर्मा ओलीले ल्याएको अध्यदेशको बारेमा फैसला गर्दै संसद् छलेर अध्यदेश ल्याउन पाइँदैन् भन्यो अनि ३२ गतेका दिन उहाँहरुले संसद् बन्द गर्नुहुन्छ । अनि १ गते अध्यादेश ल्याउनुहुन्छ । अनि त्यो चाहीँ संसद छलेको हुने कि नहुने ? यो प्रश्न पनि तपाईंहरुजस्ता सञ्चार माध्यमबाट उठ्नुपर्छ । नेकपा (एमाले) जस्तो पार्टीको लागि यो भन्दा ठुलो अत्याचार अरु केही पनि हुन सक्दैन् ।

नेकपा (एमाले)ले वार्ता, संवाद र सहमति गरेर जानुपर्दैन ? देशमा भ्रष्टाचार र जनताको समस्याहरु समाधान हुन सकिरहेको छैन्, सरकार असफल भइरहेको छ । तपाईंहरुले संसद चल्न दिएको भए सरकारको आलोचना हुन्थ्यो नि होइन् ?

यो सरकारको बारेमा हामीले आलोचना गर्नैपर्दैन । जसले आफ्नो मन्त्रीमण्डल विस्तार गर्न तिन महिना सक्दैन् उसले देश बनाउछ भनेर हामीलाई कुनै आशा नै छैन् । जनताको बिचमा आफै बदनामी भइरहेको छ । आफैपनि उसका गतिबिधीहरु सार्वजनिक भइरहेका छन् । प्रमुख प्रतिपक्षी दलले जनताका आवाज उठाएकै छ । त्यसोभएको हुदाँ चाहीँ नेकपा (एमाले) के कुरामा स्पष्ट छ भने हामीलाई सभामुखले जुन कुरामा अन्याय गर्नुभएको छ तरपनि उहाँले छिटोभन्दा छिटो सुचना प्रकाशन गरेर गल्ति भयो ढिलो भयो भनेर सुचना प्रकाशित गर्नुहोस । हामीलाई केही छैन् गरिसकेपछि हामी यसलाई सहर्स स्विकार गर्नेछौं । साथै, संसदमा नेकपा (एमाले) जहिले पनि रचनात्मक भुमिका निर्बाह गर्न तयार छन् । यसका लागि नेकपा (एमाले) को तर्फबाट कुनै पनि कन्जुसाई बाँकी रहदैन् । तर, पहिला सभामुखले हामीलाई गरेको अन्याय सच्चिनुपर्यो । यदि उहाँले त्यो सच्याउन तयार हुनुहुँदैन भने उहाँले मार्गप्रशस्त गर्नुपर्याे । अर्को सभामुख आउँछ, अर्कोले चलाउँछ ।

सभामुखको भूमिकामा तपाईंहरुले किन प्रश्न उठाईरहनुहुन्छ ?

हो, उहाँमाथि प्रश्न उठेका छन् । त्यसैका लागि उहाँले पद छोड्पर्छ । अघिपनि मैले भनें उहाँले नेकपा (एमाले) लाई अरु पार्टीसरह व्यबहार गर्नुभएन । उहाँले तटस्थ भूमिका निर्वाह गर्न सक्नुभएन । त्यसकारण त्यो पदमा बसेर अर्को पार्टी फुटाउन मतियारको रुपमा भुमिका खेल्नुभयो । त्यसैले हामीले अर्को तटस्थ मान्छेलाई ल्याएर हामी काम अगाडि बढाउन चाहान्छौं ।

त्यसोभए सभामुखले राजीनामा नदिएसम्म संसद् चल्दैन ?

नेकपा (एमाले)का १४ जना सांसदलाई कारबाही गरेको सुचना उहाँले टाँस्नपर्यो । होईन भने उहाँले राजीनामा नदिएर विकल्प छैन् । नेकपा (एमाले) यसबाट ब्याक हुँदैन् ।

तर, सभामुखले मैले कुनैपनि हालतमा कारबाही गर्न सक्दैन भन्नुभएको छ ?

ठीक छ, उहाँले गर्नुहुँदैन भने, त्यो अधिकार कहाँ छ ? त्यो देखाउनुपर्यो । नेपालको संविधान वा नेपालको राजनीतिक दलसम्बन्धी ऐन–२०७३ वा प्रतिनिधिसभा नियमावलीमा कहाँ सभामुखलाई त्यो रोक्ने अधिकार छ, उहाँले हामीलाई देखाइदिनपर्यो सर्वोच्च अदालत र कानूनविदहरुले देखाउनुपर्यो । जस्तो कि एउटा पार्टीले आफ्ना व्यक्तिलाई कारबाही गर्ने सार्वभौमिक अधिकार त्यो पार्टीको केन्द्रीय समितिलाई दिएको छ राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले । हाम्रो पार्टीको नेतालाई कारबाही गर्ने कि नगर्ने भन्नेकुरा रोक्ने अनि पार्टी फुटाउन भूमिका खेल्ने अधिकार कहाँबाट आयो ? त्यो अधिकार सभामुखसँग छैन् ।

तपाईंहरु संसद् चल्न नदिएर देशलाई निर्वाचनमा लग्ने पक्षमा हुनुहुन्छ, होइन् ?

नेकपा (एमाले) ले प्रष्ट रुपमा के कुरा गरिरहेको छ भने यो संसद्ले ठोस रुपमा जनादेशको पालना गरेन । २०७४ सालको जनादेशको पालना भनेको के हो भने त्यतिबेला नेकपालाई बहुमत हो । नेकपापछि अदालतले पनि फुटायो ब्यवहारिक रूपमा पनि पार्टीका कतिपय नेताहरुले आफुले पार्टीलाई कब्जा गर्न नसकेपछि विभाजनतिर गए । त्यो जनादेशको पालना संसद्ले गरेन । त्यसपछि नेकपा (एमाले) सबैभन्दा ठुलो पार्टी हो । एमालेभन्दा आधा सिट ल्याएको पार्टीलाई परमादेश दिएर यति घण्टाभित्र भनेर प्रधानमन्त्री नियुक्त गर्ने काम सर्वोच्च अदालतले गर्यो । त्यो मुद्दाको निवेदकले पनि एउटै मेडल पाएको छ । बहस गर्ने वकिलले पनि मेडल पाएका छन् र संवैधानिक बेन्चमा बस्ने न्यायधिशले पनि सरकारबाट मेडल पाएका छन् । यसले ठ्याक्कै सेटिङ के हो भन्नेकुरा देखाएको छ । हामी सुन्दैछौं प्रधानन्यायधिश भन्दा अगाडी रिटायर हुन लागेका न्यायधिशलाई प्रधानन्यायधिश चाहीँएको छ । सम्मानित सवोच्च अदालत जस्तो सस्थां अहिले मन्त्री बनाउन लागेको छ । भनेपछि यो भन्दा तल्लो स्तरको सेटिङ अर्को के हुन सक्छ ? त्यसकारण ७४ सालको जनादेशलाई अपहेलना गर्ने र लगातार रुपमा सत्ताको सेटिङमा लागेका अहिलाका खासखास न्यायधिशहरु र निर्वाचन आयोगमा बसेका केहीँ मान्छेहरु जसरी नेकपा (एमाले)लाई विभाजनको दिशामा लाने र आफ्ना स्वर्निम दिनहरु लगातार रुपमा अगाडी बढाउने काम गरेका छन् । यसैको लागि एमाले विभाजन गर्ने दुस्प्रयास गरे तर, खासमा एमाले विभाजन भएन एमाले बलियो शक्तिको रुपमा अहिले पनि छ । ४÷५ प्रतिशत मान्छेहरु गएका हुन् तर, हामीले केही समयमा हामीले यसलाई रिकभर गर्छौं । आज जसरी नेकपा (एमाले)लाई कमजोर पारेर मुलुकमा लुटतन्त्र, भ्रष्टाचार र अकर्म०यतालाई निरन्तरता दिन खोजिएको छ । सत्ताका केही निकायबाट त्यसलाई हामी जनादेश ल्याएर देखाउनेछौं ।

माधवकुमार नेपालले हिजो नेकपा (एमाले) को पतन स्वभाविक छ भन्नुभयो, बागमती प्रदेश र एक नम्बर प्रदेशमा तपाईहरुको सरकार ढल्दैछ, तपाईंहरुलाई धक्का लागिरहेको हो ?

होइन, हामीलाई के छ भने सरकारमा बसेर शक्ति आर्जन हुन्छ भन्ने कुराको भ्रममा नेकपा एमाले छैन् । हामी चुनाव जितेर सरकारमा जाने हो । पराजित भए प्रतिपक्षमा बस्ने हो । नेकपा (एमाले) निरन्तर रुपमा प्रतिपक्षमा बसेर जनताको समर्थन प्राप्त गरेको पार्टी हो । त्यसकारण नेकपा (एमाले) लाई सरकारमा बस्नु र नबस्नुमा ठुलो कुरा होइन् । अब माधवकुमार नेपालले के भन्नुभयो भन्ने कुराको अहिले केही अर्थ छैन् भोलीपर्सी चुनावमा देखिन्छ । म यत्ति चाँही भन्छु तपाईंलाई देशका ७५३ वटा स्थानिय पालिकाहरु र ६ हजार ७ सय ४३ वटा वडामध्ये कुनै एउटा वडामा माधव नेपालले आफ्नो पार्टीको शक्तिको सामथ्र्यमा एउटा सदस्यमा चुनाव जितेर देखाउनुहोस अरु धेरै कुरा भन्दैन् ।

तर, माधवकुमार नेपालले भन्नुभएको छ । काँगे्रसपछि मेरो पार्टी हो, एमाले अब चौथों पार्टी बन्दैछ भन्नुहुन्छ ?

कठै, अब उहाँले दोस्रो पार्टी बनाउन चाहीँ काँगे्रसले टिकट दिनपर्यो । टिकट दिएपछि पनि अरु पार्टीे सहयोग गर्न पर्यो । अब अरु सबै पार्टी सकिएर माधव जि को पार्टीलाई टिकट दिन्छन् भने ठिक छ दोस्रो हुनलाई बल गर्नुहोस केही छैन् । तर, एउटा कुरा लेखे हुन्छ । माधव जि को पार्टी आफ्नो पार्टी बनाउने सामर्थे बोकेर उभिएकै होइन् । खाली के हो भने ९ औं महाधिवेशनमा हारेर १० औं महाधिवेशन नकुरेर पेरिसडाडाँमा गएर बोर्ड टाँस्ने माधव नेपाललाई त्यहिँ बोर्ड चाहीँएको हो । त्यसकारण त्यो कुरा कल्पनामात्रै हो । नेकपा (एमाले) लाई पराजित गर्नसक्ने पार्टी यो मुलुकमा जन्मिएकै छैन् । त्यसकारण हामीलाई कुनै डर छैन् । जनताको मत ल्याएर फेरी पनि नेकपा (एमाले)को उदय हुन्छ ।



प्रतिक्रिया दिनुहोस्