Logo

देउवा सरकारका मन्त्रीहरुको नालीबेली



काठमाडौं, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको तीन महिना पुग्न लाग्दा मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । आफू प्रधानमन्त्री नियुक्त भएलगत्तै ४ मन्त्री बनाएका उनले दुईपटक राज्यमन्त्री र मन्त्री थपेका थिए ।

४ दल सम्मिलित गठबन्धन भएकाले सरकारमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबाट मन्त्री भएका छन् । उनीहरुको पृष्ठभूमि यसकारण पनि फरक खालको छ ।

प्रधानमन्त्री देउवा अहिले समेत गरी पाँच पटक प्रधानमन्त्री भइसकेका छन् । उनी पहिलोपटक गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा गृहमन्त्री भएका थिए । त्यसपछि विभिन्न समयमा उनी प्रधानमन्त्री भए । तर, उनको चार पटकको प्रधानमन्त्री कार्यकाल चुनौती र विवादले भरियो । यसपटक उनी भाग्यले प्रधानमन्त्री बनेका छन् ।

डडेलधुरामा जन्मिएर सोही जिल्लाबाट निर्वाचित हुँदै आएका देउवा हक्की स्वभावका छन् । नेपाली काँग्रेसका सभापति समेत रहेका उनी आउँदो कार्यकाल पनि नेतृत्वमा रहने प्रयासमा छन् ।
गृहमन्त्री बालकृष्ण खाँण रुपन्देहीका हुन् । जुझारु नेताको परिचय बनाएका उनी रुपन्देहीका हुन् । खाँणको काँग्रेसको युवापंक्तिमा बलियो पकड छ ।

ज्ञानेन्द्रबहादुर कार्की कानूनबाट सञ्चारमा लगिएका छन् । उनी विगतमा अर्थमन्त्री समेत भएका थिए । सालिन व्यक्तित्वका कार्कीको अन्तर पार्टी सम्बन्ध बलियो छ । उनको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि सुमधुर सम्बन्ध छ । राष्ट्रपति विद्यादेवी भण्डारी नाताले बहिनी पर्छिन् ।

ऊर्जामन्त्री पम्फा भुसाल माओवादी जनयुद्धमा समेत सहभागी भइन् । कम्युनिस्ट राजनीतिबाट बढेकी उनी ललितपुरबाट निर्वाचित सांसद हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ काठमाडौंका हुन् । विगतमा नेकपा एमाले हुँदै विभाजनताका नेकपा मालेमा गएका उनी कम्युनिस्ट राजनीति परित्याग गरी अशोक राई नेतृत्वको पार्टीमा लागे । पछि उपेन्द्र यादवसँग पार्टी एकतापछि संघीय समाजवादी पार्टीमा पुगे । समाजवादी पार्टी र तत्कालीन राष्ट्रिय जनता पार्टी एक भई बनेको जनता समाजवादी पार्टीमा रहे । उनी जसपाको नेतृत्व गर्दै सहकारमा सहभागी भएका छन् ।

विरोध खतिवडा मकवानपुरबाट निर्वाचित सांसद हुन् । नेकपा एमालेमा लामो समय बिताएका उनी माधवकुमार नेपाल नेतृत्वको नेकपा एसमा छन् । खरो बोल्ने खतिवडाले सरकारमा जाँदा नेकपा एसको नेतृत्व गरेका छन् । उनी स्वास्थ्यमन्त्री बनाइएका छन् ।

जनार्दन शर्मा अर्थमन्त्री छन् । गृह र ऊर्जामन्त्री समेत भइसकेका उनी प्रचण्डका विश्वासपात्र मानिन्छन् । रुकुमबाट निर्वाचित शर्मा माओवादी जनयुद्धमा जनसेनाको डेपुटी कमाण्डर थिए ।
रक्षामन्त्री डा. मीनेन्द्र रिजाल विगतमा पनि मन्त्री भइसकेका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रिजाल रामचन्द्र पौडेल समूहबाट मन्त्री भएका हुन् । मोरङबाट निर्वाचित सांसद रिजाल काँग्रेस महामन्त्री डा. सशांक कोइरालासँग नजिक छन् ।

खानेपानी मन्त्री उमाकान्त चौधरी बाराबाट निर्वाचित सांसद हुन् । विगतमा समेत मन्त्री भइसकेका चौधरी काँग्रेसको कृष्णप्रसाद सिटौला पक्षबाट मन्त्री भएका हुन् । उनी १३औं महाधिवेशनमा सिटौला समूहबाट कोषाध्यक्षमा चुनाव लडेर पराजित भएका थिए ।

डा. नारायण खड्का यसअघि नै परराष्ट्रमन्त्री भइसकेका छन् । उदयपुरबाट निर्वाचित खड्का विगतमा देउवाका विश्वासपात्र थिए । पछि सुशील कोइरालासँग नजिक भएका उनी फेरि देउवाको पक्षमा फर्किएका थिए ।

रेनुकुमारी यादवलाई यसपटक भौतिक पूर्वाधार जस्तो आकर्षक मन्त्रालय मिलेको छ । पञ्चायत पृष्ठभूमीकी यादव सुर्यबहादुर थापा प्रधानमन्त्री हुँदा राज्यमन्त्री थिइन् । सप्तरीलाई राजनीतिक क्षेत्र बनाउँदै आएकी यादव विगतमा राप्रपामा थिइन् । पछि मधेशी जनअधिकार फोरम हुँदै उपेन्द्र यादवसँग नजिक भइन् । यादवले जुन जुन दल बनाए उनी त्यतै लागिन् । अहिले यादवकै इच्छा अनुसार उनले भौतिक पूर्वाधार जस्तो शक्तिशाली मन्त्रालय पाएकी छिन् ।

पर्यटनमन्त्री प्रेमबहादुर आले डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । नेकपा एमालेबाट निर्वाचित भई केपी शर्मा ओली सरकारको पालामा वनमन्त्री समेत भएका उनी एमाले फुट्दा माधव नेपालको पक्षमा लागे । उनी पर्यटनमन्त्री बन्ने चर्चा यसअघि नै चलिरहेको थियो ।

दिलेन्द्रप्रसाद बडू दार्चुलाका हुन् । उनी पौडेल समूहबाट कानुनमन्त्री बनाइएका छन् । विगतमा सञ्चारमन्त्री समेत भइसकेका बडूले पौडेल पक्षबाट मन्त्री भएर बाजी मारेका छन् ।

शिक्षामन्त्री देवेन्द्र पौडेल माओवादी नेता हुन् । उनी बाग्लुङबाट निर्वाचित भएका थिए । माओवादी अध्यक्ष प्रचण्डका विश्वासपात्र पौडेल पहिलोपटक मन्त्री भएका हुन् ।

कृषिमन्त्री महिन्द्र राय यादव प्रतिनिधि सभाका जेष्ठ सदस्य हुन् । कम्युनिस्ट राजनीतिबाट आएका उनी विगतमा एमाले छाडेर मधेशवादी दलमा सक्रिय भएका थिए । जसपा विभाजन हुँदा पुरानो टिम छाडेर उपेन्द्र यादव पक्षमा लागेका थिए । यादव विगतमा मन्त्री भइसकेका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी पहिलोपटक मन्त्री भएकी छिन् । रेग्मी काँग्रेसको भगिनी संस्था नेपाल महिला संघकी अध्यक्ष पनि हुन् । उनी देउवानिकट हुन् ।

भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठसँग कम्युनिस्ट राजनीतिको लामो अनुभव छ । विगतमा जनमोर्चा नेपालबाट चुनाव लडेकी उनी भेट्रान बाम नेता लिलामणि आचार्यकी पत्नी पनि हुन् । श्रेष्ठ माओवादीकी समानुपातिकतर्फकी सांसद हुन् ।

रामकुमारी झाँक्रीले राजनीतिमा छलाङ मारेकी छिन् । आफ्ना राजनीतिक गुरुहरु प्रतिनिधि सभा सदस्य बन्न संघर्षरत रहँदा उनी मन्त्री बन्न सफल भइन् । माधव नेपालनिकट रहेर पार्टी विभाजनमा साथ दिइन् । ओलीविरुद्ध माधव नेपालको संघर्षमा झाँक्री जुझारु बनेर प्रस्तुत भइन् ।

गजेन्द्रबहादुर हमाल यसअघि कमै सुनिएको नाम हो । नेपाली काँग्रेस पृष्ठभूमिका उनी वर्तमान मन्त्रीपरिषदमा सांसद नरहेका एकमात्र मन्त्री हुन् । उनलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मन्त्री बनाउन जोडबल गरेको चर्चा चलेको थियो ।

रामसहाय प्रसाद यादव पहिलोपटक मन्त्री भएका छन् । वनमन्त्री भएका उनी बाराबाट निर्वाचित सांसद हुन् । यादव उपेन्द्र यादवका विश्वासपात्र मानिन्छन् ।

कृष्णकुमार श्रेष्ठ किसान श्रेष्ठको रुपमा चर्चित छन् । श्रममन्त्री बनाइएका श्रेष्ठ नेकपा एमाले विभाजन हुँदा आश्चर्यजनक तरिकाले नेकपा एसमा लागेका थिए । पहिलोपटक मन्त्री बनेका उनले तनहुँबाट काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेका थिए ।

महेश्वरजंग गहतराज पहिलोपटक मन्त्री भएका छन् । माओवादीका प्रत्यक्ष निर्वाचित सांसद गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी मिलेको छ । उनी प्रचण्डका विश्वासपात्र हुन् ।

उमेश श्रेष्ठ स्वास्थ्यराज्यमन्त्रीबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सारिएका छन् । शिक्षा क्षेत्रमा लामो समय काम गरेका उनी नेपाली काँग्रेसका समानुपातिकतर्फका सांसद हुन् ।

भवानीप्रसाद खापुङ स्वास्थ्यराज्यमन्त्री बनाइएका छन् । नेकपा एमालेबाट निर्वाचित उनी पार्टी विभाजन हुँदा माधव नेपाललाई साथ दिदै नेकपा एसमा लागेका थिए । उनी झलनाथ खनालनिकट मानिन्छन् ।

बोधमायाकुमारी यादव शिक्षाराज्यमन्त्री बनाइएकी छिन् । धनुषाकी यादव माओवादीको राजनीतिमा लामो समययता सक्रिय छिन् । उनी प्रचण्डको विश्वासपात्र मानिन्छिन् ।-Photo: Mukunda Kalikote/Reportersnepal



प्रतिक्रिया दिनुहोस्