Logo

माओवादीबाट सबैभन्दा बढी मन्त्री महिला



काठमाडौं, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाको दल नेपाली काँग्रेसले सबैभन्दा बढी संख्यामा मन्त्री बनाएपनि एकजना मात्र महिलालाई मन्त्री बनाएको छ । नेपाल महिला संघकी अध्यक्ष समेत रहेकी उमा रेग्मीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनाएको हो ।

सबैभन्दा बढी नेकपा माओवादी केन्द्रले ३ जना महिलालाई सरकारमा पठाएको छ । उसले २ मन्त्री र १ राज्यमन्त्री बनाएको छ । कुल ५ मन्त्री र १ राज्यमन्त्री पाएको माओवादीले ४० प्रतिशत महिला सहभागिता गराएको छ ।

माओवादीबाट पम्फा भुसाल ऊर्जामन्त्री छिन् । उनी देउवा सरकारमा महिलामध्ये वरियतामा सबैभन्दा माथि छिन् ।

शशि श्रेष्ठ भूमि व्यवस्था र बोधमाया कुमारी यादव शिक्षाराज्यमन्त्री भएकी छिन् । माओवादी अध्यक्ष प्रचण्डले महिलालाई स्थान बढी दिएर आफ्नो दल महिला अधिकारको पक्षमा व्यवहारले नै अगाडि देखिएको सन्देश दिन खोजेका छन् ।

नेकपा एकीकृत समाजवादीले रामकुमारी झाँक्रीलाई मन्त्री बनाएको छ । विद्यार्थी राजनीतिबाट आएकी झाँक्री सहरी विकासमन्त्री भएकी छिन् । उनी राजनीतिमा सांसद हुँदै एकैपटक केन्द्रमा मन्त्री भएर छलाङ मारेकी छिन् ।

जनता समाजवादी पार्टीले रेनुकुमारी यादवलाई मन्त्री बनाएको छ । उनले भौतिक पूर्वाधार जस्तो शक्तिशाली मन्त्रालय पाएकी छिन् ।

देउवा नेतृत्वको मन्त्रिमण्डल प्रधानमन्त्रीका अलावा २१ मन्त्री र ३ राज्यमन्त्री रहेकोमा ५ मन्त्री र १ राज्यमन्त्री महिला छन् । देउवा सरकारमा कुल २० प्रतिशत महिला सदस्य छन् । प्रतिशतका हिसाबले काँग्रेसले सबैभन्दा कम र माओवादी केन्द्रले सबैभन्दा बढी महिलालाई मन्त्री बनाएको छ ।-Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्