Logo

पत्रकारद्वय रेस्सा र मेराटोभलाई नोबेल शान्ति पुरस्कार



एजेन्सी, २२ असोज । यसवर्षको नोबेल शान्ति पुरस्कार दुईजना पत्रकारलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा भएको छ । फिलिपिन्सकी पत्रकार मारिया रेस्सा र रुसका डिमिट्री मुराटोभलाई संयुक्त रुपमा प्रदान गरिने भएको हो । आज नोबेल पुरस्कार कमिटीले उनीहरुलाई पुरस्कृत गर्ने घोषणा गरेको हो ।

नोबेल कमिटीले रेस्सा र मुराटोभले अभिव्यक्ति स्वतन्त्रताका लागि पुर्याएको योगदानका लागि पुरस्कार प्रदान गर्ने निर्णय भएको जनाएको छ । दुवैले फिलिपिन्स र रुसमा अभिव्यक्ति स्वतन्त्रताका लागि भूमिका खेलेको उल्लेख छ ।

सन् १९३५ मा जर्मनीका कार्ल भन ओसिजकीले नोबेल पुरस्कार पाएयता पहिलोपटक पत्रकारलाई पुरस्कार प्रदान गरिने घोषणा भएको हो ।

रेस्सा रेप्लर नामक खोज पत्रकारितासम्बन्धी वेवसाइटकी संस्थापक हुन् । उनले फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेरटेले चलाएको लागूऔषधविरुद्धको युद्धका मानवअधिकार उल्लंघनका घटनाको खुलासाहरु गरेकी थिइन् । पुरस्कार पाएपछि रेस्सा स्वयं आश्चर्यचकित भएको बताएकी छिन् । उनी पटक पटक जेल हालिएकी थिइन् ।

मुराटोभ रुसी पत्रिका नोभाया गाजेटाका संस्थापक हुन् । उनी २४ वर्षयता उक्त पत्रिकाका सम्पादक छन् । उनले अभिव्यक्ति स्वतन्त्रताका लागि लेख्दै आएका छन् ।-Photo Source: Reuters



प्रतिक्रिया दिनुहोस्

Screenshot