Logo

मुलुकमा सबल सुरक्षा नीति आवश्यक : नवनियुक्त रक्षामन्त्री डा. रिजाल



काठमाडौं, २२ असोज । नवनियुक्त रक्षामन्त्री डा मीनेन्द्रप्रसाद रिजालले मुलुकका लागि सबल सुरक्षा नीति आवश्यक भएको बताएका छन् । राष्ट्रिय सुरक्षा कुनै एक दलको मात्रै नभइ सबैको साझा विषय भएकाले त्यसलाई सबै मिलेर एकताबद्ध रुपमा अघि बढाउनुपर्नेमा उनको जोड थियो ।

सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै रक्षामन्त्री डा रिजालले भने,“अहिले परराष्ट्रसम्बन्धको विषयमा जुन कुरा उठिरहेको छ त्यसले पनि सबल सुरक्षा नीति आवश्यक रहेको देखिएको छ, त्यसमा मेरो ध्यान जान्छ ।”

राष्ट्रपति विद्यादेवी भण्डारी रक्षामन्त्री हुँदा नै मन्त्रीस्तरीय समितिले राष्ट्रिय सुरक्षा नीति अघि बढाएको सन्दर्भ जोड्दै मन्त्री डा रिजालले त्यसलाई पछि आएर विभिन्न चरणमा अघि बढाउने काम भइरहेको उल्लेख गरे ।

मन्त्री रिजालले नेपालको सुरक्षा संवेदनशिलता र मित्रराष्ट्रसँगको सम्बन्ध पहिलेभन्दा बढी अवसरको रुपमा विकास भइरहेको र त्यससँगै चुनौती पनि बढ्दै गएको सन्दर्भमा आफ्नो भूमिका थप प्रभावकारी बनाउने विश्वास दिलाए ।

उनले नेपालबाट शान्ति मिसनमा ठूलो सङ्ख्यामा सेना जाने गरिएको र त्यहाँ नेपालको भूमिकालाई अझ विस्तारित गर्ने विषयलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए । मन्त्री डा रिजाल यसअघि संस्कृति र सञ्चार तथा सूचना प्रविधिमन्त्री भएका थिए । सुनसरीमा जन्मिएका रिजाल मोरङ क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य उनी नेपाल विद्यार्थी सङ्घको केन्द्रीय उपाध्यक्ष हुँदै राजनीतिमा आएका थिए । उनले संविधान मस्यौदा समितिको सदस्य बनेर जिम्मेवारी निर्वाह गरे । हाल उनी संसद्को सार्वजनिक लेखा समितिका सदस्य पनि हुन् । उनले अमेरिकाको न्यूयोर्क विश्वविद्यालयबाट व्यवस्थापन विषयमा विद्यावारिधि गरेका हुन् ।

Photo By: Mukunda Kalikote/ReprotersNepal



प्रतिक्रिया दिनुहोस्