Logo

मन्त्री नबनाएको भन्दै वीरगञ्जमा उपेन्द्र यादवको पुत्ला दहन



काठमाडौं, २३ असोज । मन्त्रिपरिषद विस्तारमा सत्तारुढ दल जनता समाजवादी (जसपा)को एक समूहले असन्तुष्ट जनाएको छ । हिजो (शुक्रबार) शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाएलगत्तै जसपामा मन्त्री बन्न नपाएका नेताहरुमा रुष्ट बनेका हुन् । प्रतिनिधिसभा सदस्य प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै पर्साको वीरगञ्जमा जसपाको झण्डा र अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाइएको छ ।

पर्साको निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचित सांसद हुन् प्रदीप यादव । यसअघि उनी मन्त्री बन्ने चर्चा थियो । तर, अध्यक्ष यादवले उनलाई मन्त्रीको सूचीबाट शुक्रबार हटाएका थिए । पर्साबाट मन्त्री नबनाएको भन्दै आक्रोशित त्यहाँको एक समुहले जसपाको झण्डा जलाउनुका साथै र अध्यक्ष यादवको पुत्ला जलाएको हो ।

निर्वाचित आफ्नो सांसदलाई मन्त्री नबनाएको आक्रोशमा उनकै पार्टी जसपाका कार्यकर्ताको एक समूह विरोध प्रदर्शनमा उत्रिएको छ । त्यस्तै, अर्का सांसद प्रमोद साहले आफूलाई धोका भएको भन्दै समाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् । अध्यक्ष उपेन्द्र यादवकै आफन्त अमरेन्द्र यादवले समेत सामाजिक सञ्जालमा रेणु यादव र महिन्द्र राय यादवलाई मन्त्री बनाएको भन्दै असन्तुष्टि पोखेका छन् ।



प्रतिक्रिया दिनुहोस्