Logo

शान्तिपूर्ण रूपमा ताइवानसँग ‘पुन: एकीकरण’ गर्ने चिनियाँ राष्ट्रपति सीको विश्वास



एजेन्सी, २३ असोज। चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘ताइवानसँगको एकीकरण पूरा हुनुपर्ने’ बताएका छन् । चिनियाँहरूसँग पृथक्तावादको विरोध गर्ने ”गौरवशाली परम्परा” रहेको चेतावनी दिँदै उनले एक भाषणमा बताएका हुन्।

राष्ट्रपति सीको भनाइमा प्रतिक्रिया दिँदै ताइवानको राष्ट्रपति कार्यालयले ताइवानको भविष्य त्यहाँकै नागरिकको हातमा रहेको बताएको छ । ताइवानले आफूलाई एक सार्वभौम मुलुकका रूपमा मान्छ भने चीनले भने ताइवानलाई भने एक अलग प्रान्तका रूपमा हेर्छ । चीनले बल प्रयोग गरेर एकीकरण गर्ने कुरा भने गरेको छैन ।

पछिल्लो एक हप्तामा ताइवानी आकाशमा १५० भन्दा बढी चिनियाँ सैनिक विमानको उडानपछि राष्ट्रपति सीको यस्तो भनाइ आएको थियो । चीनबाट राजशाही अन्त्य भएको ११०औं वर्षगाँठको अवसरमा राष्ट्रपति सीले भने, ‘मातृभूमिको एकीकरण गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्नुपर्छ । र, यो अवश्य पूरा हुनेछ ।’

चिनियाँ राष्ट्रपति सीले ताइवानसँग ‘एक देश : दुई प्रणाली’ अन्तर्गत शान्तिपूर्ण रूपमा एकीकरण गर्न चाहेको बताएका छन् । ताइवानले भने बेइजिङलाई घुसपैठ, उत्पीडन र उत्तेजक कदम’ रोक्न आग्रह गरेको छ ।राष्ट्रपति सीले यसअघि सन् २०१९ मा ताइवानसँग सम्बन्ध सुधार भएको ४०औं वर्षगाँठ का अवसरमा पनि दुई देशबीच शान्तिपूर्ण एकीकरण गर्न र एक देश दुई प्रणाली नीतिमा चीन प्रतिबद्ध रहेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्