Logo

विद्युत्का कारण गत हप्तादेखि टेलिकम सेवा अवरुद्ध



–उमा केसी रोल्पा, २३ असोज : रोल्पाको पूर्वी भेगमा गत हप्तादेखि टेलिकम टावर नहुँदा सेवाग्राहीले सस्ती भोग्नुपरेको छ । सुनछहरी गाउँपालिकाको गुम्चालमा विद्युत्को ट्रान्समिटर जलेकाले गत हप्तादेखि टेलिकमको सेवा अवरुद्ध भएको हो । गाउँपालिकाका जेलबाङ, सेरम उवा, गामलगायत स्थानका बासिन्दा टेलिकमको सेवा लिनबाट बञ्चित भएका हुन् । टावर कहिले आउने कहिले जाने गर्छ स्थानीयवासी हिक्मत घर्तीले भन्नुभयो ।

पहिले सोलारमार्फत विद्युत् सञ्चालन हुने गरेकामा अहिले झन् विद्युत् भएर पनि नियमित सेवा सञ्चालनमा छैन उहाँले भन्नुभयो । सम्बन्धित नियकायले चासो नै दिँदैन कहिलेसम्म यसरी बस्ने घर्तीले दुखेसो पोख्नुभयो । टेलिकम टावर अवरुद्ध भएपछि धेरैपटक विद्युत् र टेलिकमका कार्यालयमा सम्पर्क गरी छिटो मर्मत गर्न पहल गरिएको सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले बताउनुभयो । पटकपटक फोन गरेको छु, म आफैँ पनि कार्यालय पगेर समस्या बताउँदासमेत तुलसीपुरले हेर्ने हो हामीले होइन भन्ने जवाफ पाइयो । उता विद्युत् कार्यालय प्रमुखलाई छिटो ट्रान्समिटर मर्मत कार्य गर्नुप¥यो भनी फोनगर्दा उल्टै थर्काउने गरेको अध्यक्ष पुनले गुनासो गर्नुभयो । तार जलेको छ भन्ने बुझिएको छ नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालयका प्रमुख शम्भुप्रसाद मण्डलले बताउनुभयो । टेलिकमका कर्मचारी आएपछि आफूले प्राविधिक पठाउने उहाँको भनाइ थियो ।

टेलिकमको साइड हो भनेपछि त उसैले उपलब्ध गराउनुप¥र्यो नि उहाँले भन्नुभयो । टावरको जिम्मा तुल्सीपुरको कार्यालयले हेर्ने गरेको दूर सञ्चार कार्यालयका प्रमुख भीष्मध्वज उपाध्यायले बताउनुभयो । यो मर्मतका लागि उक्त कार्यालयमा चार इञ्जिनीयरको टोली रहेको र उनीहरूले नै हेर्ने भएकाले तुलसीपुरबाट सामानसहित टोली चाँडै आउनेसमेत उहाँले बताउनुभयो ।
समयमै मर्मत गर्न ढिलाइ गर्दा हप्तौँ दिनसम्म टलिफोन सेवाबाट सेवाग्राही बञ्चित भएका छन् भने जिल्लाको पश्चिमोत्तर भेगको थवाङ, परिवर्तन, गङ्गादेव र माडी गाउँपालिकामा पनि यो समस्या देखिने गरेको छ ।

माडी गाउँपालिका–५ भाबाङ, वडा नं ३स्थित तालाबाङ, परिवर्तन गाउँपालिकाको वडा नं २स्थित राङ्सी र वडा नं ५को राङ्कोट थबाङ गाउँपालिका–२स्थित थवाङमा टावर बनाइए पनि भरपर्दो छैन । गङ्गादेव गाउँपालिकाको वडा नं ७स्थित राँकको रातामाटामा रहेको टावर पश्चिम नेपालको सबैभन्दा ठूलो क्षमताको टावर मानिन्छ । नेपाल टेलिकमको सो टावरसँग अन्य टावर जोडिएकाले त्यहाँ समस्या आउनेवित्तिकै अन्यत्रका टावरले काम गर्न छोड्छन् ।

रातामाटाको टावरमा समस्या देखापर्ने बित्तिकै पश्चिमोत्तर रोल्पाका अधिकांश टावरले काम नगर्ने समस्या रहेको परिवर्तन गाउँपालिका–२ वडाध्यक्ष हरिप्रसाद घर्तीले बताउनुभयो । घण्टौँ डाँडाकाँडा पुगेर फोन गर्ने पुरानो समस्या दोहोरिने स्थानीय सूर्यप्रकाश बुढामगरको गुनासो थियो । मुख्य समस्या विद्युत् आपूर्तिमै रहेको नेपाल टेलिकमका स्थानीय कर्मचारीले बताए । विद्युत्को तार जलिरहने र टावर सौर्य ऊर्जाबाट सञ्चालन गरिए पनि वर्षात्, कुहिरो र बादल लागेका समयमा व्याट्रीमा विद्युत् सञ्चित नहुँदा समस्या हुने गरेको बताइन्छ ।

विद्युत् व्यवस्थापनका लागि स्थानीय सरकारसँग पटकपटक आग्रह गर्दा पनि सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्