Logo

अफगानिस्तानको मस्जिदमा आत्मघाती हमला, ५० जना भन्दा बढीको मृत्यु



काठमाडौं, २३ असोज । अफगानिस्तानको कुन्दुज प्रान्तस्थित एक मस्जिदमा प्रार्थनाको समयमा एक जनाको आत्मघाती बम हमलामा परी कम्तीमा ५० जना मारिएको छ भने १०० जनाभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूमा कैयौँ शवहरू र अल्पसंख्यक सिया समुदायले प्रयोग गर्ने मस्जिदका भग्नावशेषहरू देखिन्छन् । हालसम्म कुनैपनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

अस्पतालहरूमा रगत अभाव भए या नभएको हेर्न पुगेका स्थानीय व्यापारी जलमाइ अलोकजाइले अस्तव्यस्त दृश्य देखेको बताएका छन् । ‘मृतकका शवहरू सङ्कलन गर्न एम्बुलेन्सहरू घटनास्थलतर्फ गइरहेका थिए’ उनले एएफपी समाचार संस्थासँग भनेका छन् ।

इस्लामिक स्टेट सहितका सुन्नी मुसलमान उग्रवादीहरूले सिया समुदायलाई पाखण्डी ठान्दै निशाना साँध्ने गरेका छन् । इस्लामिक स्टेटको अफगानिस्तानमा रहेको भातृ संस्था आइएस–केले हिंसात्मक रूपमा नै तालिवानको विरोध गर्दै आएको छ । उसले हालैका दिनमा देशका पूर्वी क्षेत्रहरूमा कैयौँ बम हमलाहरू गरेको थियो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्