Logo

आउँदो केही महिनाभित्र नेपाल शतप्रतिशत खोप लगाइएको देश हुन्छ : मन्त्री खतिवडा



नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले केही महिनाभित्र शतप्रतिशत जनसंख्यामा खोप पुर्याउने दाबी गरेका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक दलका एउटा सामान्य नेता भनेका छन् । नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । पत्रकार धमलाले तपाईँहरुको अब केपी ओलीसँग कस्तो सम्बन्ध हुन्छ ? भनेर सोधेको प्रश्नमा मन्त्री खतिवडाले भने–‘सम्बन्ध कस्तो हुनु नि, केपी शर्मा ओली सामान्य एउटा राजनीतिक दलका नेता हुन् । इमानदारीपूर्वक भए इमानको सम्बन्ध हुन्छ, इमान भएन भने अब बेईमानहरुलाई गरिने सम्बन्ध कस्तो हुन्छ, त्यस्तै हुन्छ ।’ उनले अहिलेलाई खोप पर्याप्त रहेको पनि बताए । प्रस्तुत छ मन्त्री खतिवडासँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

सर्वप्रथम स्वास्थ्यमन्त्री बन्नुभएकोमा बधाई छ, अब जनताको लागि के काम गर्दैहुनुहुन्छ, योजना के छन् ?

होईन, हामी सबैको साझा योजना हो । साझा ढंगले अघि बढ्ने हो । अहिले विश्वव्यापी कोरोना महामारीबाट नेपाल पनि प्रभावित भएको छ । स्वास्थ्य मन्त्रालयले आफ्नो सम्पूर्ण ध्यान त्यता केन्द्रीत गरेको छ । र, गर्नुपनि पर्छ । यो हामी सबैको साझा दायित्व हो । हामी ठाँउमा छौं, उनीहरुले नै यसको सतर्कता अपनाउने देखि लिएर आफ्नो तर्फबाट गर्नुपर्ने काम गर्नुपर्छ । कोभिड–१९ को भ्याक्सिन केही महिनाभित्रै सबैले पाइसक्नुपर्छ । बालबालिकाको हकमा अझैपनि पर्याप्त व्यवस्था भइसकेको छैन् । १२–१८ वर्षको समूहको लागि तुरून्त प्राथमिकता दिनुपर्नेछ । अन्य समूहका लागि आउने क्रम जारी छ । यसलाई रोक्न हुँदैन् । हामीले केही महिनाभित्र यसलाई शतप्रतिशत पुर्याउनुपर्छ । तेस्रो लहर पनि आउने हल्लाहरु आएका छन् । अब त्यसको सत्यतालाई पुष्टि गर्न सकिँदैन् । त्यसका बाबजुद पनि सरकार तयारी अवस्थामा बस्नुपर्ने हुन्छ । अर्को नेपालको बजेट, यो वर्ष स्वास्थ्य मन्त्रालयसँग जोडिएका कामहरु गर्नपर्ने छ ।

तपाईंहरुले खोप भन्न लागेको धेरै भइसक्यो, नेपाली जनताले अब कहिलेसम्म खोप लगाउन पाउँछन् ?

नेपाली जनताले अब कुर्नुपर्दैन् । खोप आइसकेको छ, लगाउने क्रम पनि जारी रहेको छ । अहिलेलाई हामीसँग खोप पर्याप्त छ । अहिले भएका खोप नसकिदै अरु खोप ल्याउने काम पनि पाइपलाईनमा रहेको छ ।

उसोभए यसवर्ष सबै नेपाली जनताले खोप लगाउन पाउँछन् ?

एकदम, यस विषयमा सबै जनता निर्धक्क भए हुन्छ । डोनेसन कहाँबाट आउँछ भनेर बस्नुभन्दा पनि नेपाल सरकारले आफंै खरिद गरेर भएपनि नेपाली जनतालाई खोप लगाउने कामलाई हामीले रोक्नुहुँदैन् ।

स्वास्थ्य क्षेत्रमा धेरै माफियागिरी र भ्रष्टाचार छ, तपाईंले यसलाई सुधार्न सक्नुहुन्छ ?

धेरै ठुला–ठुला च्यालेन्ज पनि राजनीतिक नेतृत्व र सरकारको दृढताले धेरै अग्ला पहाड पनि चढ्न सकिन्छ । त्यसकारण मूल कुरा भनेको इच्छाशक्ति हो र हामीसँग भएका साधन स्रोतको सदुपयोग हो । दुरुपयोग नगरेर विवाद नआउने गरी काम गर्ने हो । अब विभिन्न कालखण्डमा विवादास्पद गतिविधिहरु पनि भएका छन् । स्वास्थ्य उपचारमासमेत विभिन्न अनियमितताका कुराहरु पनि आएका छन् । त्यस्तो अपराधपुर्ण काम गर्न नदिने ढंगले हामीले आफ्नो साधनस्रोतको प्रयोग गर्यौं भने हामीले तपाईंले भनेजस्तो सुधार्न सक्छौं ।

त्यसोभए स्वास्थ्य मन्त्रालय विचौलियाको हातमा जाँदैन ?

जाँदैन, यो सम्भव नै छैन् ।

जनताले देशभरी निःशुल्क स्वास्थ्य सेवा पाउँछन् ?

पाउँछन्, त्यसमा कुनै शंका नै छैन् । आउँदो केही महिनाभित्र शतप्रतिशत खोप लगाइएको देश हुन्छ ।

नेकपा (एमाले) लाई फुटाएर मन्त्री हुनुभएको छ, अब पार्टीलाई कसरी अगाडी बढाउनुहुन्छ ?

पार्टी त हामी अस्ति भर्खर बैठक बसेका थियौं । ३ महिनासम्म हाम्रो संगठन निर्माण हुन्छ । केन्द्रदेखि वडासम्म नै हामीले संगठन निर्माण गर्छौं । हामीले कार्य बिभाजन पनि गरिसकेका छौं । अब दशैं अगाडी पनि जति सकिन्छ काम हुन्छ । केन्द्रीय कमिटी र प्रदेश कमिटी सबैजना आफ्नो काममा जुट्नुभएको छ । दशैंको शुभकामना आदान–प्रदान गर्दै आ–आफ्नो जिल्ला, गाउँ र टोलमा सबै साथीहरु लागिरहनुभएको छ । त्यही कार्यक्रमको लागि म अहिले पोखरा जाँदैछु ।

बाग्मती प्रदेशमा अब नयाँ मुख्यमन्त्री कहिले बन्ने ?

अब त्यो कुरा त प्रक्रियाबाट हुने कुरा हो ।

तर, मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले भोलि नै विश्वासको मत लिने भन्नुभएको छ ?

ठीक छ, विश्वासको मत लिनुहुन्छ । पाउनुभयो भने बस्नुहुन्छ पाउनुभएन भने राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नुहुन्छ ।

उहाँले विश्वासको मत पाउनु होला ?

तपाईं आफैं हेर्नु, अब गणितले देखाउदैन र ?

तपाईं पार्टीको संगठन निर्माण गर्नको लागि पोखरा जाँदै हुनुहुन्छ, मन्त्री बनिसकेपछि तपाईंले अब देश र जनताको सेवा गर्ने कि पार्टीको ?

दुईवटै काम गर्ने हो । दलीय व्यवस्थामा दल पनि चाहिन्छ, सरकार पनि चाहिन्छ ।

अब नेकपा (एमाले) को अवस्था के होला ?

नेकपा (एमाले) त अब देखिहाल्नु भयो नि, ६ वटा प्रदेशमा सरकार थियो ध्वस्त पारे । बरु हामीले जोगाउँदैछौं ।

अब केपी शर्मा ओली र तपाईंहरुबीचको सम्बन्ध कस्तो हुन्छ ?

सम्बन्ध कस्तो हुनु नि, केपी शर्मा ओली सामान्य एउटा राजनीतिक दलका नेता हुन् । इमानदारीपूर्वक भए इमानको सम्बन्ध हुन्छ, इमान भएन भने अब बेईमानहरुलाई गरिने सम्बन्ध कस्तो हुन्छ, त्यस्तै हुन्छ ।

आगामी दिनमा तपाईंहरु गठबन्धनका साथ जानुहुन्छ अथवा बीचमै यो गठबन्धन टुट्छ ?

यो आवश्यकताको सिद्धान्तले जन्माउने कुरा हो । अहिले सरकार बनाउने र अगाडी बढ्ने कुरामा संविधानको रक्षा गर्ने कुरामा यो भन्दा अगाडिका प्रधानमन्त्रीले संविधानलाई मिच्ने र थिच्ने जुन काम गरेका थिए, त्यसलाई हामीले नियन्त्रणमा ल्याएका छौं । अदालतले पनि त्यहीअनुसार संविधानबमोजिमको फैसला गरेको छ । त्यसकारणले संविधानवादलाई ट्रयाकमा ल्याउने प्रयत्नमा बनेको गठबन्धन हो यो । यो गठबन्धन त्यसैगरि अघि बढ्छ ।

तपाईंहरुले नेकपा (एमाले)लाई फुटाउनुभयो तर, गैरसांसद गजेन्द्रबहादुर हमाललाई उद्योगमन्त्री बनाउनुभयो हैन् ?

उहाँ नेपाली काँग्रेसको पुरानो मान्छे हो । यो प्रधानमन्त्रीज्युको हातको कुरा हो । उहाँले स्पष्टीकरण पनि दिइसक्नुभएको छ । गजेन्द्रजी माननीयमा पनि उठिसकेको मान्छे हुनुहुन्छ । संसद्मा पनि उमेद्वार भइसक्नुभएको मान्छे हुनुहुन्छ । त्यसकारणले गैरसांसदलाई मन्त्री बनाउने अधिकार संविधानले पनि दिएको छ । योभन्दा अगाडि पनि बनाएको इतिहास छ । २५ जनामा एक जना त्यो पर्यो भन्दैमा यसलाई पहाड नै उचाल्न पर्ने देख्दैन म ।



प्रतिक्रिया दिनुहोस्