Logo

मोदीलाई महतमार्फत् पठाइएको देउवाको सन्देशमा के छ ?



काठमाडौं, २३ असोज । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतको टोली यतिबेला भारत भ्रमणमा छ । भारतमा रहँदा टोलीले महत्वपूर्ण भेटहरु गरेको छ ।

टोलीले विदेशमन्त्री एस. जयशंकर, भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डा, विदेश विभाग प्रमुख विजय चौथाइवाले, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायतसँग भेटवार्ता गरेको छ । भेटमा काँग्रेसको भारतसँगको परम्परागत सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा पनि कुराकानीहरु भएको बुझिएको छ ।

महतले काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश लिएर गएको बुझिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्म पुग्ने गरी महतले लगेको सन्देशमा देउवा सरकारलाई भारतको साथ र सहयोग, काँग्रेस महाधिवेशनमा देउवालाई साथको विषय मुख्य रुपमा रहेको बुझिएको छ ।

महतले देउवाको भारत भ्रमणको वातावरण विकास, भारतको सत्तारुढ भारतीय जनता पार्टीसँग नेपाली काँग्रेसको सम्बन्ध मजबुत पार्ने विषयमा पनि छलफल गरेको बुझिएको छ । विशेषगरी भाजपासँग काँग्रेसको सम्बन्ध विकासका आधारहरु तयार गर्नेबारे महतले देउवाका तर्फबाट प्रस्तावहरु लगेको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार महतले भारतको सत्तापक्षको नेपाल मामलामा चासो र चाहना समेत बुझेका छन् । त्यस अनुसार काँग्रेसले चाल्न सक्ने कदमबारे पनि छलफल भएको छ । भाजपाले नेपालमा हिन्दुराष्ट्र स्थापनामा चासो राखेको चर्चा चलिरहँदा त्यसबारे पनि महतसहितको टोलीले बुझ्न खोजेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

भाजपाको निमन्त्रणमा पुगेको नेपाली काँग्रेसको टोलीमा सहमहामन्त्री डा. प्रकाशशरण महत, पूर्वराज्यमन्त्री उदय शमशेर राणा र विजय चौरसिया छन् ।



प्रतिक्रिया दिनुहोस्