Logo

देउवाको अस्त्रले पौडेल समूह ‘छिन्नभिन्न’



काठमाडौं, २३ असोज । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा इतर समूहलाई विभाजन गर्ने रणनीतिमा लागेका थिए । १४औं महाधिवेशनमा आफू इतर समूह एकढिक्का भएमा पुनः सभापति बन्ने सम्भावना कमजोर हुने विश्लेषण उनी पक्षका नेताहरुको थियो ।

वडा अधिवेशन हुँदै पालिका तहको अधिवेशन अधिकांश ठाउँमा सम्पन्न हुँदा देउवा स्पष्ट बहुमतमा देखिएनन् । उनी ३५ देखि ४० प्रतिशत पकडको अवस्थामा देखिए । उपसभापति विमलेन्द्र निधिले साथ छाडिसकेका थिए । विजयकुमार गच्छेदार कसैको पक्षमा खुलेनन् । त्यसकारण पनि देउवाका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल नै मुख्य चुनौती बन्यो ।

पौडेल समूहमा कोइराला परिवार र प्रकाशमान सिंह मुख्य शक्ति थिए । पौडेल आफै समूहमा तेस्रो स्थानमा रहेको समिक्षा समेत भयो । कोइराला परिवार र सिंह उक्त समूहमा मुख्य शक्ति थिए । देउवाले प्रकाशमान सिंहलाई भेटेर पक्षमा पार्न खोजे । सरकारमा उपप्रधानमन्त्रीसहित मागेको मन्त्रालय, पार्टीमा महत्वपूर्ण पद समेतको प्रस्ताव गरे । तर, सिंह मानेनन् । उनी आफै सभापतिको उम्मेदवार बन्ने अडानमा रहे ।

त्यसपछि देउवाले पौडेल समूहको विभाजन नै मुख्य अस्त्र देखे । उनले मन्त्रिमण्डल बाँडफाँडमा अप्ठ्यारो पारे । पौडेललाई पेलेरै दुई मन्त्रालय मात्र दिने प्रस्ताव गरे । गुट व्यवस्थापनका लागि पौडेलले ३ मन्त्रालय मागे । तर, देउवा तयार भएनन् । २ मन्त्रालयमा पनि पौडेललाई र महामन्त्री सशांक कोइरालालाई ११ मन्त्रालय दिने भए । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षलाई १ मन्त्रालय दिएर भित्री रुपमा पक्षमा पारिसकेका थिए ।

मन्त्रालय भागवण्डामा विवादका कारण कोइराला परिवारभित्र विवाद चर्कियो । सुरुमा कोइराला परिवारले सुजाता कोइरालाको नाम अगाडि सार्यो । तर, उनी रोकिइन् । त्यसको परिणाम कोइराला परिवार विभाजित भयो । सुजाता कोइरालाले औपचारिक रुपमा कोइराला परिवार विभाजित भएको घोषणा गरिन् । कुनै हालतमा महामन्त्री सशांक कोइरालालाई सभापतिको उम्मेदवार बनेमा साथ नदिने रिपोर्टर्स नेपालसँग बोलिन् ।

सुजाताले आफू पौडेल समूहबाट अलग भएको घोषणा गरिन् । पूर्वउपप्रधानमन्त्रीसमेत रहेकी सुजाताको पक्षधरहरु छरिएको अवस्थामा छन् । उनीहरुको मत महाधिवेशनमा महत्वपूर्ण हुनसक्छ । गिरिजाप्रसाद कोइराला शक्तिमा हुँदा सुजाताले पनि शक्ति सञ्चय गरेकी थिइन् । उनको शक्ति कमजोर मात्र भएको देखिन्छ पूरै सकिएको छैन । सुजाताले कोइराला परिवार विभाजित भएको भन्नु अर्थपूर्ण छ । उनले धेरै राजनीतिका रहस्यहरु पनि खोलेकी छिन् । यसले काँग्रेसको राजनीतिमा दूरगामी असर पर्न सक्छ ।

देउवाको २ मन्त्रालय वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालालाई दिने अस्त्रले प्रकाशमान सिंह पनि नयाँ निर्णयमा पुगेका छन् । उनले पौडेललाई कुनै हालतमा सभापतिमा साथ नदिने स्पष्ट पारिसकेका छन् । सिंह आफै फरक शक्तिका रुपमा उभिएका छन् । उनी पौडेल समूहबाट अलग भएका छन् । उनको आफ्नै फरक समूह सक्रिय भइसकेको छ ।

काठमाडौं उपत्यकाभित्रबाट मात्र दुई तिहाई महाधिवेशन प्रतिनिधि सिंह पक्षधर आउने तस्बिर देखिइसकेको छ । यसकारण पनि उनी काँग्रेस महाधिवेशनमा सभापतिका बलिया उम्मेदवार हुन् । फरक परिस्थिति विकास भएमा सभापतिको प्रतिष्पर्धामा निर्णायक शक्ति सिंह नै हुने निश्चितप्रायः छ ।

कोइराला परिवारको विभाजनले महामन्त्री सशांक कोइराला फरक ढंगले जानुपर्ने अवस्था बनेको छ । सम्भवतः डा. शेखर कोइराला र सुजाता कोइराला एक हुने सम्भावना छ । प्रकाशमान सिंह छुट्टै शक्तिका रुपमा उभिएका छन् । योसँगै पौडेल समूह छिन्नभिन्न भएको छ । अब यो समूहबाट नयाँ समूह विकास हुनसक्छ । देउवाको अस्त्रले पौडेल समूह छिन्नभिन्न भएको छ ।



प्रतिक्रिया दिनुहोस्