Logo

प्रचण्डले मन्त्री बनाएकाबाट फेरि धोका खालान् ?



काठमाडौं, २३ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जस्लाई विगतमा मन्त्री बनाए उनीहरुमध्ये कतिपयले धोका दिए । प्रचण्ड स्वयंले सार्वजनिक रुपमा मन्त्री बनाएकैबाट धोका पाएको अभिव्यक्ति दिएका छन् ।

प्रचण्डले निकै विश्वास गरेर मन्त्री बनाएकाहरुले समेत साथ छाडेकाले यसो भनेको बुझ्न सकिन्छ । उनले निकै विश्वास गरेका लेखराज भट्टले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको साथ रोजे । प्रचण्डले नै उनलाई ओली सरकारमा उद्दोगमन्त्री बनाएका थिए ।

रामबहादुर थापा बादल प्रचण्डकै कोटाबाट गृहमन्त्री भएका थिए । उनलाई गृहमन्त्री बनाउन प्रचण्डले निकै संघर्ष गर्नुपरेको थियो । तर, बादलले पनि प्रचण्डको साथ छाडेर ओली रोजे ।

प्रभु साहलाई पनि प्रचण्डले साथ दिएका थिए । विगतमा मन्त्री बनाएका थिए । उनले पनि प्रचण्डको साथ छाडेर ओली रोजे ।

टोपबहादुर रायमाझी उपप्रधानमन्त्री सम्म भएका थिए । उनले पनि प्रचण्डको साथ छाडेर ओली रोजे ।

प्रचण्डले विगतमा मन्त्री बनाएका गोपाल किराँती माओवादी केन्द्रमा छैनन् । खड्क विश्वकर्मा प्रकाण्डलाई पनि विगतमा मन्त्री बनाएका थिए । उनी पनि विप्लव समूहमा छन् ।

अरु नेताहरुले मन्त्री बनाएकाहरु सायदै गुट छाड्छन् । आफ्ना नेताकै पक्षमा रहन्छन् । तर, प्रचण्डलाई आफैले विगतमा मन्त्री बनाएकाहरुले साथ छाडेजस्तै यसपटक मन्त्री बनेकाहरु पनि छाड्लान् ?

प्रचण्डको रोजाइमा परेका जर्नादन शर्माले अर्थ जस्तो शक्तिशाली मन्त्रालय पाए । उनले प्रचण्डलाई अप्ठ्यारो अवस्थामा पनि साथ दिदै आएका छन् । पम्फा भुसाल ऊर्जामन्त्री बनिन् । विगतमा माओवादी विभाजनमा मोहन वैद्य किरण समूहमा गएकी उनी बादल समूहमा थिइन् । तर, बादलले ओली रोज्दा उनी गइनन् । प्रचण्डकै पक्षमा रहिन् । प्रचण्डले पम्फा भुसाललाई पुरस्कृत गरे ।
देवेन्द्र पौडेल पहिलोपटक मन्त्री बनाइए । शिक्षामन्त्री बनाइएका शर्मा प्रचण्डले धेरै विश्वास गरेकामध्ये हुन् ।

भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठ पूर्व जनमोर्चा नेता हुन् । भेट्रान बाम नेता लिलामणि आचार्यकी पत्नी श्रेष्ठ पनि प्रचण्डको विश्वासिलो बनेकी छिन् ।

महेश्वरजंग गहतराज पहिलोपटक मन्त्री भएका छन् । उनी पनि यसपटक विश्वास गरिएकामा परे ।

बोधमायाकुमारी यादव शिक्षाराज्यमन्त्री बनाइएकी छिन् । धनुषाकी यादव माओवादीको राजनीतिमा लामो समययता सक्रिय छिन् । उनी प्रचण्डको विश्वासपात्र मानिन्छिन् । यसपटक मन्त्री बनाइएकाहरुले प्रचण्डलाई धोका दिने छन् कि छैनन् ? चासोको विषय बनेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot