Logo

ममाथि फेरि विभेद भयो, एउटा समुदायलाई मात्र मन्त्री बनाइयोः सांसद अग्रहरि



काठमाडौं, असोज २४ । जसपा नेतृ एवं सांसद अमृता अग्रहरिले मन्त्री बनाउँदा आफूमाथि विभेद भएको बताएकी छन् । उनले पार्टीमा एउटा समुदायलाई मात्र मन्त्री बनाएर अध्यक्ष उपेन्द्र यादवले गरेको गल्ती सच्चाइनुपर्ने धारणा राखिन् ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ अग्रहरिले भनिन्, “कुनै व्यक्ति मन्त्री भएकामा मेरो असन्तुष्टि छैन । म पनि लामो समयदेखि विभेदको खिलाफ राजनीतिमा लागेकी हुँ । एकपल्ट मन्त्री भएर देश र जनताको सेवा गर्ने र विभेद अन्त्य गर्ने मनसाय थियो । तर ममाथि फेरि पनि विभेद भएको छ ।”

उनले थपिन्, “पार्टी भनेको एउटा समुदायको मात्र हुँदैन । एउटा समुदायलाई मात्र अघि सारेर पार्टीको मूल्य मान्यता पूरा हुँदैन । राष्ट्रिय कार्यकारिणी समितिको बहुमतबाट भूगोल, दलित, महिला, जातजाति आदि हेरेर नयाँलाई पठाउने गरी तीन नेतालाई म्यान्डेट दिएका थियौंं । तर अध्यक्ष उपेन्द्र यादवबाट गल्ती भएको छ, पार्टीको हितका लागि त्रुटि सच्चाउनुपर्छ ।”

आफू व्यक्तिविशेषभन्दा पनि नीतिगत विरोधमा रहेको उनले बताइन् । उनले भनिन्, “म उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई कसैको विरोधमा छैन । नीतिगत विरोध हो । व्यक्तिको विरोध छैन । यसका दोषी मन्त्री होइनन्, नेताहरु हुन् ।”

उनले मन्त्री हुनका लागि पार्टी नफुटाएको पनि दाबी गरिन् । उनले भनिन्, “राजपा र समाजवादी पार्टी एक भएको अवस्थामा हामीले मूलधारमै बसेर काम गरेको हो । मन्त्री खानलाई दल बदलेको होइन । यस्तो भ्रम कसैलाई नहोस् ।”



प्रतिक्रिया दिनुहोस्