Logo

गजेन्द्र हमाल पार्टीकै साथी हुनुहुन्छ, उहाँको निष्ठामा प्रश्न छैनः बद्री पाण्डे



काठमाडौं । नेपाली कांग्रेसका नेता बद्री पाण्डेले उद्योग मन्त्री गजेन्द्र हमाल पार्टीकै निष्ठावान् साथी भएकाले मन्त्री बन्दा आपत्ति नभएको बताएका छन् । तर, मन्त्रीका आकांक्षी सांसद नै धेरै भएका बेला गैरसांसदलाई मन्त्री बनाउँदा आशंका उठ्नु स्वाभाविक भएको उनको कथन छ ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पाण्डेले भने, “सरकार विस्तारमा ढिलो भयो, तर राम्रै भयो । राम्रो र नराम्रो मापन गर्ने आआफ्ना नजर हुन्छन् । प्रतिस्पर्धा भए पनि कसै न कसैलाई चयन गर्नु पर्ने हो । अहिले पार्टीका पुराना साथी गजेन्द्र हमाल मन्त्री बन्नुभएको छ, सांसद नभएका बेला बन्नुपर्ने या नबन्नुपर्ने, प्रश्न आफ्नो ठाउँमा छ तर उहाँ पार्टीको निष्ठावान् साथी हो । गैरसांसदलाई किन मन्त्री बनाइएको भन्ने जवाफ प्रधानमन्त्री शेरबहादुर देउवामै निहित छ ।”

पार्टी सभापति र प्रधानमन्त्री दुवै देउवा भएकाले मन्त्रीको निर्णयमा प्रभाव हुनु पनि स्वाभाविक भएको उनले बताए । उनले थपे, “सभापति र प्रधानमन्त्री उहाँ नै हुनुहुन्छ । निर्णयमा उहाँको प्रभाव बढी हुन्छ नै । कांग्रेसमा सभापति नै पार्टी हो भन्ने अभ्यास छ । चौधौं महाधिवेशनपछि त्यो परम्परा तोडिन्छ । ”

पार्टीमा भागबन्डा गर्नु गलत भएको उनको तर्क छ । उनले भने, “शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइराला र सुशील कोइराला प्रधानमन्त्री हुँदा ६०-४० को लाभ लिनुभयो । चौधौं महाधिवेशनपछि पार्टी भागबन्डामा होइन, विधि र पद्धतिमा चल्छ । उचित र सही नेतृत्व छानेपछि समस्या रहँदैन ।”

रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला र सशांक कोइराला एक हुने भने देउवा सहजै पराजित गर्न सकिने पनि उनले बताए । उनले भने, “हाम्रा चार नेता नै विभाजित हुनुभयो भने त म भन्न सक्दिनँ । तर एक जना मात्र उठ्दा र त्यसमा कृष्ण सिटौला, विमलेन्द्र निधि पनि एक ठाउँमा उभिने बित्तिकै नेतृत्व परिवर्तन अवश्यम्भावी छ ।”



प्रतिक्रिया दिनुहोस्