Logo

नेपाल विरुद्ध भारतः हेड टु हेड



काठमाडौं, असोज २४ । दक्षिण एसियाली राष्ट्रकै प्रतिष्ठित फूटबल प्रतियोगिता साफ च्याम्पियनसिप अन्तर्गत आज हुने खेलमा नेपाल र भारत भिड्दैछन् । मालेस्थित राष्ट्रिय फूटबल रंगशालामा हुने खेल नेपाली समय अनुसार बेलुकी ९:४५ बजे शुरु हुनेछ ।

भारतविरुद्ध नेपालको ईतिहास बिर्सिन लायक छ । हालसम्म नेपाल र भारत २१ पटक आमनेसामने हुँदा नेपालले मात्र २ खेल जितेको छ भने १४ खेलमा हार बेहोरेको छ । बाँकी ५ खेल भने बराबरी सकिएको थियो । नेपालले भारतविरुद्धको पछिल्लो ७ खेलमा जित निकाल्न सकेको छैन । त्यसैले नेपाल भारतलाई सन् २०१३ पछि पहिलो हार चखाउने दाउमा छ ।

पछिल्लो पटक नेपालले सन् २०१३ मा घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपको समूहचरणको खेलमा भारतलाई २(१ गोलले पराजित गरेको थियो । उक्त खेलमा नेपालको तर्फबाट जुमानु राई र अनिल गुरुङले एकरएक गोल गरेका थिए । त्यसपछि भएको मैत्रीपूर्ण खेलमा भारतले नेपाललाई २-० गोलले हराएको थियो । यस्तै सन् २०१५ मा फिफा विश्वकप छनोट अन्तर्गत भएको खेलको पहिलो लेगमा २-० गोलले पराजित भएको नेपालले घरेलु मैदानमा भएको दोस्रो लेगमा भारतलाई गोलरहित बराबरीमा रोकेको थियो ।

त्यसपछि भारतमै भएको साफ च्याम्पियनसिपमा भारतले नेपाललाई ४(१ गोलले हराएको थियो । सन् २०१८ मा भारतमा भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमापनि नेपाल २-० गोलले स्तब्ध भएको थियो । यस्तै यहीँ वर्ष सेप्टेम्बरमा साफको तयारीको लागि काठमाडौंमा भएको दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल मध्य पहिलो खेलमा १(१ गोल बराबरी खेलेको नेपाल दोस्रो खेलमा २-१ गोलले पराजित भएको थियो ।

त्यसैले नेपाल आजको खेलमा भारतसँगको ७ खेलको जितविहिन यात्रालाई पुर्णविराम लगाउन चाहन्छ । आजको खेल जितेको खण्डमा नेपालले एक खेल अगावै फाइनलमा आफ्नो स्थान सुरक्षीत गर्ने छ । यता साफको सर्वाधिक ७ पटकको च्याम्पियन भारत आजको खेलमा गर या मरको अवस्थामा रहेको छ । आज नेपालसँग पराजित भएको खण्डमा भारतको फाइनल पुग्ने सम्भावना समाप्त हुनेछ ।



प्रतिक्रिया दिनुहोस्