Logo

भ्रष्टाचारको आरोप लागेपछि अस्ट्रियाका चान्सलरले दिए राजीनामा



एजेन्सी, २४ असोज। अस्ट्रियाका चान्सलर सबास्चियन क्रुजले राजीनामा दिएका छन् । भ्रष्टाचारको आरोप लागेपछि उनले राजीनामा दिएका हुन्। उनले आफ्नो स्थानमा विदेशमन्त्री अलेक्जान्डर स्कालेनबर्गलाई चान्सलर प्रस्ताव गरेका छन् ।

ओभीपी पिपल्स पार्टीका विभिन्न कार्यालयहरूमा छापा मारेपछि क्रुजलगायत ९ जनालाई अनुसन्धानमा राखिएको बिबिसीले लेखेको छ । क्रुजमाथि सरकारी पैसा प्रयोग गरेर पत्रपत्रिकामा सकारात्मक कभरेज गराएको आरोप रहेको जनाइएको छ ।

जसलाई उनले खण्डन गर्दै आएका छन् । उक्त आरोपले उनको गठबन्धन सरकार ढल्ने अवस्थामा पुगेको थियो । द ग्रिन्सले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेका विपक्षी दलसँग छलफल समेत शुरु गरेको थियो । ग्रिन्सका नेता तथा भाइस चान्सलर वेर्नर कोग्लरले क्रुजको राजीनामालाई स्वागत गर्दै स्कालेनबर्गसँग काम गर्न तयार रहेको बताएका छन् । क्रुजले राजीनामा दिँदा भनेको विषयलाई उदृत गर्दै बीबीसीले लेखेको छ,‘अहिलेको आवश्यकता स्थिरता हो । द्वन्द्व भड्किन नदिन म पछि सरेको हो । दिलो अथवा चाँडो ममाथि लागेको आरोप खण्डन गर्ने छु ।’-Photo: Agency



प्रतिक्रिया दिनुहोस्