Logo

‘चीनसँग नझुक्ने’ ताइवानी राष्ट्रपतिको दृढता



एजेन्सी, २४ असोज । चीनका राष्ट्रपति सी चिनफिङले पुनः एकीकरण भन्दै आक्रमण गर्ने संकेत गरेपछि ताइवानका राष्ट्रपति साइ इङ वेनले कुनै हालतमा नझुक्ने बताएकी छिन् । ताइवानको राष्ट्रिय दिवसमा वेनले चीनको दबाबसामु नझुक्ने बताएकी हुन् ।

हामी जति बढी उपलब्धि हासिल गर्छौं उति बढी चीनको दबाबको सामना गर्छौं, ताइवानकी राष्ट्रपति वेनले भनिन् । उनले ताइवान चीनको पथमा नहिंड्ने स्पष्ट पार्दै लोकतन्त्र पहिलो प्रतिरक्षाको लाइन भएको बताइन् ।

चीनले युद्धक विमान उडाएर ताइवानको हवाई क्षेत्रउल्लंघन गरेको आरोप लगाइन् । ७२ वर्षयता चीनसँग सबैभन्दा चीसो सम्बन्ध बनेको वेनको भनाई थियो ।

शनिबार चिनियाँ राष्ट्रपति सी चिनिफङले चीनको एकीकरण गर्ने भन्दै आक्रमणको संकेत गरेका थिए । सन् १९११ को क्रान्तिको ११०औं वर्षगाँठमा आयोजित विशेष समारोहलाई बेइजिङको ग्रेट हलमा सम्बोधन गर्दै सीले ताइवानको प्रश्न पुर्नएकीकरणका रुपमा हल हुने बताएका थिए ।

सीले ताइवानको विषयको मिसनलाई गम्भीर भन्दै देशलाई धोका दिनेले इतिहासको कठघरामा उभिनुपर्ने चेतावनी समेत दिएका थिए । सीको भनाई आएको भोलिपल्ट ताइवानी राष्ट्रपतिले चुनौती सामना गर्ने बताएकी हुन् ।

ताइवानको सवाल अबको दुई वर्षभित्र समाधान हुने ग्रेट हलको सम्मेलनमा सहभागीको भनाई उदृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ । सन् २०२४ भित्र गाभ्ने योजना समेत खुलाइएको छ ।

ताइवानलाई स्वतन्त्र राष्ट्रको मान्यता दिइएको छैन । तर, ताइवानले आफूलाई स्वतन्त्र राष्ट्रका रुपमा प्रस्तुत गर्दै आएको छ । ताइवानसँग ३ लाख सेना र शक्तिशाली हतियार छन् । चीनको सम्भावित आक्रमणको प्रतिरक्षा गर्न ताइवान तयार भएर बसेको छ । यसले उक्त क्षेत्रमा युद्धको कालो बादल मडारिएको छ ।



प्रतिक्रिया दिनुहोस्