Logo

कानूनमन्त्री कार्कीलाई बोलाएर प्रधानन्यायाधीश जबराले हमाललाई मन्त्री नबनाउन भनेका थिए



काठमाडौं, २४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा मन्त्री बनेका गजेन्द्र हमालले दुई दिन नबित्दै पदबाट राजीनामा दिएका छन् । हमाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका थिए । तर, उनको नियुक्ती हुनुपुर्व नै सार्वजनिक रुपमा आलोचना भैसकेको थियो ।

खासगरी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नाम जोडेर उनको आलोचना भएको थियो । नाताले हमाल चोलेन्द्रका जेठान हुन् । प्रधानमन्त्री देउवाले भने हमाल कांग्रेसकै पूरानो नेता र अन्यायमा परेकोले आफूले मन्त्री बनाएको स्पष्ट पारेका थिए ।

हमालको नियुक्तीलाई लिएर कानून व्यवसायीहरुले समेत कडा प्रतिक्रिया दिएका थिए । उनीहरुले प्रधान्यायाधीश जबरामाथि महाभियोग लगाउनुपर्ने वा उनले राजीनामा दिनुपर्नेमात्रै विकल्प रहेको धारणा राखेका थिए । अधिवक्ता ओमप्रकाश अर्यालले त प्रधानन्यायाधीश जबरालाई अब सर्वोच्च अदालतमा छिर्नै दिन नहुने बताएका थिए ।

विशेष सूत्रकाअनुसार प्रधानन्यायाधीश जबराले मन्त्री बन्नुअघि नै आफूसँग जोडेर हमालको बारेमा समाचार आएपछि सरकारका प्रवक्तासमेत रहेका तत्कालिन् कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई बोलाएर हमाललाई मन्त्री नबनाउन सुझाएका थिए ।

प्रधानन्यायाधीश जबराले आफूसँग जोडेर समाचार आएको भन्दै हमाललाई कुनैपनि हालतमा मन्त्री नबनाउन भनेका थिए । तर, प्रधानमन्त्री देउवाले भने हमाललाई मन्त्री बनाईछाडे । प्रधानन्यायाधीश जबराले आफूले मन्त्री नबनाउन भन्दाभन्दै पनि किन मन्त्री बनाईयो भनेर आश्चर्यमा परेका थिए ।

कतिसम्म भने हमाल कांग्रेसको कोटाबाट मन्त्री बनेको भनेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक रुपमा प्रधानन्यायाधीशको बचाउ समेत गरेका थिए । तर, आज विहान हमालले पदबाट राजीनामा दिएका छन् ।

उनले आफूले स्वविवेक प्रयोग गरेर राजीनामा दिएको बताएका छन् । आफ्नो कारण न्यायालयमाथि आँच आउन नदिन राजीनामा दिएको र पद आफ्नो व्यक्तिगत जीवनको लागि केही पनि नभएको उनको प्रतिक्रिया छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot