Logo

साफ च्याम्पियनसिपः आज नेपाल र भारत भिड्दै, कसले मार्ला बाजी ?



काठमाडौं, २४ असोज । माल्दिभ्समा जारी १३औँ संस्करणको साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत भिड्दैछन् । माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा माल्दिभ्सलाई १–० गोल अन्तरले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकाविरुद्ध ३–२ को रोमान्चक जित निकालेको थियो । तर, सात पटक साफ च्याम्पियनसिपको उपाधि उचालिसकेको भारतसँग प्रतिस्पर्धा गर्न नेपाललाई सहज भने हुने छैन् ।

लगातार दुई जित निकाल्दै ६ अंकका साथ शिर्ष स्थानमा रहेको नेपाल आज भारतविरुद्ध जित निकाल्दै फाइनल पुग्न चाँहेको छ । प्रि–म्याच कन्फीरेन्समा शनिबार बोल्दै कप्तान किरण चेम्जोङले भारतविरुद्धको खेलका लागि राम्रो तयारी गरेको तरपनि खेल कठिन रहेको बताएका थिए ।

‘तर हामी जित्नका लागि ९० मिनेटसम्म प्रतिस्पर्धा गर्छौं’, उनले भने । ‘यसअघिको इतिहास हेर्दा भारत विरुद्धको खेलमा नेपालले जित्ने सम्भावना निकै कम छ तर मलाई आशा छ हामी भारतसँग हार्ने छैनौँ’, प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रि–म्याच कन्फीरेन्समा भने ।

यस्तै पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा श्रीलंकासँग बराबरी खेलेको भारत २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ । आजको खेलमा भारतपनि नेपालविरुद्ध जितको खोजिमा हुनेछ ।
भारतविरुद्ध नेपालले हालसम्म २१ खेल खेल्दा २ खेल मात्र जित्न सफल भएको छ भने १४ खेल भारतले जित्दा ५ खेल बराबरी भएका छन् ।



प्रतिक्रिया दिनुहोस्