Logo

बैतडीमा मदिरा बेचबिखनमा प्रतिबन्ध



बैतडी, २४ असोज: देहीमाडौँ र पाटनमा मदिरा बेचबिखन तथा ओसारपोसारमा पूर्ण रुपमा रोक लगाइएको छ । बडादसैँको महाष्टमी र महानवमीका दिन लाग्ने जात्रा तथा मेलालाई मध्यनजर गर्दै मदिरा बेचबिखन र ओसारपोसार बन्द गरिएको हो ।

देहीमाडौँमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा महाअष्टमी र पाटनस्थित प्रसिद्ध उदयदेव मन्दिरमा महानवमीका दिन पशु बलिसहित जात्रा लाग्ने गर्दछ । निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलालाई व्यवस्थित बनाउन देहिमाडौँ बजार क्षेत्रमा घटस्थापनादेखि नै मदिरा बेचबिखन र ओसारपोसारमा रोक लगाइएको छ ।

वडाध्यक्ष रनबहादुर बोहराका अनुसार मदिरा बेचबिखन तथा सेवन गरेको पाइएमा जरिवाना गरिनेछ । कसैले मदिरा सेवन गरेको पाइएमा रु दुई हजार, बेचबिखन र ओसारपोसार गरेमा रु छ हजार जरिवानासहित मदिरासमेत जफत गरिने वडा कार्यालयले जनाएको छ । यसका साथै जुवा खेले वा खेलाएमा रु तीन हजार जरिवाना गरिने बताइएको छ ।

उदयदेव मन्दिरमा लाग्ने मेलालाई व्यवस्थित बनाउन पनि मदिरा बेचबिखन र सेवनमा प्रतिबन्ध लगाइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । महाअष्टमी र महानवमीका दिन पूर्णरुपमा रोक र आइतबारदेखि पाटन बजारमा अपराह्न ३ः०० देखि ६ः०० बजेसम्म मात्रै मदिरा बिक्रिवितरण गर्न पाइने जनाइएको छ ।

सरोकारवालाको बैठकले मेलालाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न पाटन नगरपालिका– ६ का वडा सदस्य करनसिंह कठायतको अध्यक्षतामा १३ सदस्यीय मेला व्यवस्थापन समिति गठन गरेको हो । यस्तै कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले मेला तथा जात्रामा सहभागी हुने दर्शनार्थीलाई अनिवार्यरुपमा स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्