Logo

‘बन्दीपुरको एकीकृत विकासका लागि प्रदेश सरकार प्रतिबद्ध’



दमौली, २४ असोज: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पर्यटकीय नगरी बन्दीपुरको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । तनहुँको बन्दीपुरस्थित शहीद पार्कमा आयोजित कार्यक्रममा उनले बन्दीपुरको एकीकृत विकासका लागि प्रतिबद्ध रहेकाले गुरुयोजना बनाएर काम अगाडि बढाउन आग्रह गरे ।

राणा शासनविरुद्धको आन्दोलन उत्कर्षमा पुगिरहेका बेला पहिला वीरगञ्ज र त्यसपछि बन्दीपुरमा जनसरकार घोषणा भएको जनाउँदै उनले बन्दीपुर कब्जा गर्नेबेलामा पुरुषका साथमा महिला पनि उत्तिकै खटिएको स्मरण गरे । आन्दोलनमा उत्रनेदेखि घाइतेको उपचारका लागि श्रीभद्र शर्माकी आमा र करुमाया रानासहितका महिला अग्रसर रहेको उनको भनाइ छ ।

विसं २००७ मा जहानीय शासनविरुद्ध आन्दोनमा उत्रनु भनेको त्यतिबेला असामान्य अवस्था भएको उल्लेख गर्दै उनले आन्दोलनमा उत्रनाका लागि चेतना भर्ने अगुवालाई राष्ट्रले सम्मान गर्नुपर्ने बताए । उनले भने, “प्रजातान्त्रिक आन्दोलनका लागि बन्दीपुर नेपालमै अगुवा थलो हो, यस ठाउँको एकीकृत विकासका लागि व्यवस्थित योजना नै अगाडि बढ्नुपर्छ ।”

बन्दीपुर आफै ऐतिहासिक सहर भएको र पर्यटकीय महत्व बोकेको ठाउँ भएकाले त्यहाँ थप पर्यटक आकर्षित गर्ने खालका योजना ल्याउन पनि प्रदेश सरकारले सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । प्रदेश सरकारको स्रोतले नपुगेको खण्डमा सङ्घ सरकारसँग समन्वय गर्ने उनले बताए ।

कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेलले बन्दीपुरलाई प्रजातान्त्रिक आन्दोलनको अध्ययनस्थलका रुपमा विकास गर्न सकिने भनाइ राखे । प्रदेशसभा सदस्य डोवाटे विश्वकर्माले गोबद्र्धन पोखरेलसहितको नेतृत्वमा बन्दीपुर कब्जा गरिएको भन्दै सङ्घर्षबाट प्राप्त उपलब्धिको जगेर्ना गर्नु सबैको दायित्व रहेको बताए ।

बन्दीपुरमा शहीद स्मारक बाटिका निर्माण गरिएको छ । विसं २०४९ मा उद्घाटन गरिएको उक्त बाटिकमा शहीद स्तम्भ र समाधिस्थल बनाइएको छ । त्यही स्मारकमा पुगेर पोखरेलले श्रद्धाञ्जलि अर्पण गरे । कृष्णचन्द्र बन्दीपुर क्रान्तिका अगुवामध्येका एक गोबद्र्धन शर्मामा माइला छोरासमेत छन् ।-रासस



प्रतिक्रिया दिनुहोस्