Logo

उद्योगमन्त्रीमा अब को ? सुजाता की उमेश श्रेष्ठ ?



काठमाडौं, २४ असोज । गजेन्द्रबहादुर हमालले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीबाट राजीनामा दिएसँगै अब उक्त मन्त्रालयको नेतृत्वमा को आउँछ ? भनेर चर्चा सुरु भएको छ । हमालले आजमात्रै पदबाट राजीनामा दिएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले उनको राजीनामा स्वीकृत गरिसकेका छन् ।

प्रधानमन्त्रीनिकट उच्च स्रोतकाअनुसार प्रधानमन्त्री देउवाले उद्योग मन्त्रालयमा अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राज्यमन्त्रीको रुपमा रहेका उमेश श्रेष्ठलाई पठाउने तयारी गरेका छन् । पछिल्लो समय रामचन्द्र पौडेलले समूहले मन्त्री बनाउने भनेर चर्चा रहेकी तर मन्त्री नबनाईएकी नेतृ सुजाता कोइरालाको पनि मन्त्री बन्ने सम्भावना रहेको स्रोतको दाबी छ ।

सुजाताले पौडेल र शशांक कोइरालाको गुट छोडेको घोषणा गरिसकेकी छिन् । यद्धपी उनले आफू सभापति देउवाको पक्षमा उभिएको भनेर सार्वजनिक रुपमा भनिसकेकी छैनन् । तर, १४औं महाधिवेशनलाई लक्षित गरेर देउवाले सुजातासँग समिकरण बनाउन सक्ने अनुमान भने भएको छ ।

उता, यसअघि स्वास्थ्य मन्त्रालयमा बसेर श्रेष्ठले राम्रो काम गरेको भनेर कांग्रेसकै केही नेताहरु भने श्रेष्ठलाई उद्योगमन्त्री बनाउनुपर्नेमा लविङ गरिरहेका छन् । प्रधानमन्त्री देउवाले कसलाई मन्त्री बनाउँछन् ? त्यो हेर्न बाँकी छ । तर, देउवाले सुजाता र उमेशमध्ये एकलाई नै मन्त्री बनाउनसक्ने कांग्रेसनिकट स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्